अपारदर्शी कारोबारका कारण सहकारी संस्था गम्भीर संकटमाः पुगेन सरकारको निगरानी

अपारदर्शी कारोबारका कारण सहकारी संस्था गम्भीर संकटमाः पुगेन सरकारको निगरानी


अहिले आर्थिक कारोबार पारदर्शी नभएका अधिकांश सहकारी संस्थाका सञ्चालक सम्पर्कमा छैनन् । उनीहरुको फोन लाग्दैन र फोन लागे पनि उठ्दैन । त्यसैले सहकारीका बचतकर्ताहरु तनावमा छन् । सबै जनताको पहुँचमा पुग्न सफल सहकारी संस्थाको अवस्था कम्जोर छ । बचतकर्ताहरु आफ्नो बचत फिर्ता हुन्छ कि हुन्न भन्ने अन्योलमा छन् । बचत फिर्ता लिन बचतकर्ताहरुको कार्यालय अगाडि भीड नै लाग्न थालेको छ । ऋण समयमा नउठ्दा र नयाँ बचत आउन नसक्दा सहकारी संस्थाहरु बिस्तारै बन्द हुँदैछन् ।

बन्द हुने सहकारीको सूचीमा काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको सन्ध्या बचत तथा ऋण सहकारी संस्था पनि रहेको छ । आफ्ना बचतकर्ताको ३ हजार रुपैयाँपनि फिर्ता गर्न नसकेपछि यस संस्थाका सञ्चालक मानबहादुर राई फरार छन् । यस संस्थाको काठमाडौं पेप्सीकोला, ललितपुरको खुमलटार, इमाडोल र भैसीपाटीमा रहेको शाखा कार्यालय पनि बन्द छन् । करिब एक महिनादेखि संस्था बन्द गरी फरार रहेका सहकारीका संञ्चाक राई अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । उनको फोन पनि लाग्दैन र सामाजिक सञ्जाल फेसबुक आईडी पनि निष्कृय बनाएका छन् । साथै उनले आफ्नो घर समेत बचेको बुझिएको छ ।

संस्थाको कुल बचत ५ करोड र कर्जा लगानी ४ करोड ५० हजार रहेकाले बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको संस्थाले बताउँदै आएको थियो । असोज महिनादेखि निरन्तर बचत माग्दा समेत पैसा नपाएको बचतकर्ताहरुको गुनासो रहेको छ ।

सन्ध्या सहकारीमा रामचन्द्र मास्टरले जम्मा गरेको २० हजार रुपैयाँ फिर्ता पाएका छैन । । उनी भन्छन्,  ‘ मेरो जम्मा गरेको अरु त दियो तर, २० हजार अझै दिन बाँकी नै छ । निकाल्छु भनेको निकाल्न मिल्दैन, समय पुगेको छैन भनेर निकाल्न दिएन । अहिले सम्पर्क विहीन भएको छ ।’

यस्तै, अर्का बचतकर्ता सरोज अधिकारीले पनि करिब ६ वर्ष अघिदेखि सोही सहकारीमा बचत गर्दै आएको बताउँछन् । उनी एउटाबाट मात्र होइन २ वटा सहकारीबाट ठगिएका छन् । मध्य बानेश्वरमा रहेको नव विकल्प बहुउद्देशीय सहकारी र सन्ध्या बचत तथा ऋण सहकारी संस्थाले पैसा फिर्ता नदिई सञ्चालकहरु फरार छन् । 

पहिला पहिला सहकारीले पैसा दिन्थ्यो। घरसम्म नै ल्याइदिन्थ्यो भनेको बेला तर दशैं पछाडीदेखि सहकारीले वास्ता गर्न छाड्यो । उनी भन्छन्,  ‘सहकारीमा मैले पैसा जम्मा गर्न थालेको झन्डै ७ वर्ष भएको थियो । पहिले त कारोबार राम्रै भएको थियो । तर, पछि बाट सम्पूर्ण बचत कर्ताहरुलाई ठग्दै गएको छ ।’

उनले बचत गरेको मध्य सन्धाबाट ५७ हजार बाँकी छ भने नव विकल्पबाट ३५ हजार फिर्ता आएको छैन । उनी भन्छन्, ‘ मेरो धेरै पैसा त होइन तर पनि २ वटा सहकारीलाई कारबाही हुनुपर्छ र बचतकर्ताको पैसा पनि फिर्ता दिनुपर्छ । पैसा त्यसै आएको होइन पसिना बगाएर कमाएको हो । यति पैसा कमाउँनलाई कति मेहेनत पर्छ । सित्तैमा आएको होइन ।’

उनको मात्र होइन अनामनगरमै पसल गर्ने ओम प्रकास मण्डलको पनि सन्ध्या सहकारीले करिब ६ महिनादेखि रकम नदिएर सम्पर्क बिहीन भएको छ । उनी भन्छन्,  ‘मैले दिनमा १ हजारदेखि १५०० रुपैयाँसम्म बचत गर्थे । पहिला त राम्रै थियो तर, पछि सम्पर्क विहीन भयो । अहिले त्यो सहकारी पनि बन्द भएको छ । दशै पछि सम्पर्कमा आउँन छाडेको हो । मेरो २ लाख ८० हजार रुपैयाँ फिर्ता दिएको छैन । अहिले फोन गर्दा फोन पनि लाग्दैन । सबै पैसा फिर्ता दिओस् अरु केही चाहिँदैन ।’

सन्ध्या सहकारी संस्था त एक उदाहरण मात्र हो । देशभर विभिन्न स्थानमा सञ्चालन भएका सहकारीका सञ्चालक संस्था बन्द गरेर फरार भएका छन् ।सहकारी संस्था एकाएक बन्द हुँदा बचतकर्ताहरुको खर्बौ रुपैयाँ जोखिममा परेको छ । सहकारी विभागको तथ्याङ्क अनुसार सहकारी क्षेत्रले करिब १० खर्ब बराबरको कारोबार गरेको छ । अहिलेको अवस्था कायमै भयो भने आउने दिनमा अरु सहकारी संस्थाहरु पनिबन्द हुने निश्चित छ । अर्थतन्त्रको महत्वपूर्ण आधार सहकारी संस्था लामो समयदेखि कम्जोर बन्दा देशको समग्र अर्थतन्त्रमा समस्या आउँदासमेत सरकारले समस्या समाधान गर्न चासो देखाएको छैन् । सहकारीबाट ऋण लिएर हजारौ व्यक्तिले सफल व्यवसाय गरेका छन् । तर पछिल्लो समयमा यस क्षेत्रमा बढेको त्रासले बचतकर्ताहरु आत्तिएका छन् ।

के भन्छन् सहकारी विभागका रजिष्ट्रार ?

अहिले हरेक वित्तीय क्षेत्रमा समस्या भएको सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बताए। उनका अनुसार कोरोनाका कारण विश्वव्यापी रुपमा आर्थिक क्षेत्र प्रभावित भएको छ । बैंकिङ क्षेत्रमा राष्ट्र बैंक नियामक निकाय भएकाले मान्छेहरु आत्तिदैनन् तर सहकारीमा संस्थागत नभई व्याजको लोभले मात्र पैसा राख्ने र सहकारी संचालकले पनि मूल्य मान्यता भन्दा बैंक तथा वित्तिय संस्थाको अवधारणामा सञ्चालन गर्दा समस्या आएको हो ।

ऋण नउठ्ने र आम जनताले सहकारी क्षेत्रमा समस्या आयो भनेर सबै जना एकै पटक निक्षेप संकलन गर्न जाने प्रणालीले गर्दा समस्या भएको उनले बताए । ‘ वास्तविक सिद्धान्त अनुसार चलेका सहकारीमा समस्या छैन्’ ,उनले भने, ‘जसले सहकारीका मूल्य मान्यता विपरित काम गरेका छन् तिनीहरुमा समस्या देखिएका छन् । त्यस्ता सहकारीमा कडाइका साथ प्रस्तुत भएर नियन्त्रणमा गर्ने छौं ।’

बचकर्ताको बचत फिर्ता नगरी कार्यालय बन्द गर्ने सहकारी संस्थाहरुलाई कानूनले दिएको प्रकृया पूरा गरी कारबाही गर्ने समेत रजिष्ट्रार घिमिरे बताएका छन् ।

सहकारीमा कसरी समस्या आयो ?
समग्र सहकारीको नियमन र सुपरिवेक्षणको जिम्मा पाएको सहकारी विभागले समस्या समाधन गर्दैछौँ भनेपनि लामो समयदेखि देखिएको समस्या अहिलेसम्म समाधान गर्न सकेको छ्रैन् । सहकारीमा समस्या आउनुको मूख्य कारण सहकारी संस्थाहरु मूल्य मान्यता र सिद्धान्त अनुसार नचल्ने,सञ्चालक जिम्मेवार नबन्ने, सञ्चालक समितिको बैंठक समयमा नबस्ने रहेका छने । यसैगरी समयमा साधारणसभा नगर्ने, लेखापरीक्षण प्रतिवेदन साधारणसभामा पेश नगर्ने, बिना धितो ऋण दिने, सदस्यलाई प्रलोभनमा पार्ने, ऋणीले ऋण लाँदा दिएको कारणलाई पुष्टि नगरी ऋण दिने हुँदा पनि समस्या आउने गरेको हो । 

त्यस्तै ऋणको प्रयोजन पूरा भए नभएको पुष्टि नगर्ने,महङगो व्याजदर, राजनीतिक हस्तक्षेप, कमजोर नियमन प्रणाली, शहर केन्द्रित कारोबार, उत्पादन बजरीकरणमा न्यून उपस्थिति पनि सहकारीका समस्या हुन । सहकारीको भूमिका स्पष्ट नभई सहकारी संस्था सञ्चालन गर्ने र प्रविधि, प्रणली र दक्ष जनशक्तिको अभावका कारणले पनि सहकारीमा समस्या देखिँदै आएको सहकारी विज्ञहरु बताउँछन् ।

अर्थतन्त्रमा कति जोखिम ?
सहकारी क्षेत्रमा आएको समस्याले देशको अर्थतन्त्रमै ठूलो समस्या उत्पन्न गराउन सक्ने अर्थविद् डा.चन्द्रमणी अधिकारीले बताएका छन् । उनका अनुसार सहकारी क्षेत्रमा समस्या आउँदा गरिब जनता मर्कामा परेका छन् । सहकारी संस्था राज्यको तीन खम्बे अर्थनीतिको महत्वपूर्ण आधार हो । यसमा समस्या आउँदा आर्थिक गतिविधि ठप्प हुन्छ । जसले उत्पादन र रोजगारी कमी आउँछ र देशको अर्थतन्त्रको सबै पाटोमा असर गर्छ । सरकारले यस समस्यालाई समयमै समाधान गरेन भने अर्थतन्त्र टाट पल्टिन सक्छ।

सहकारीमा देखिएको समस्याले समग्र अर्थतन्त्रमा नै जोखिम देखिएपनि सरकारका तर्फबाट समस्याको समाधान गर्न ठोस पहल हुन नसकेको यस क्षेत्रका अगुवाहरुको भनाइ छ । 

समाधान कसरी गर्ने ?
सहकारी संस्थामा देखिएको समस्याको समाधान गर्न समस्यालाई पहिचान गरी समाधान गर्न कार्यसमिति गठ्न गर्ने, सहकारी संस्थाहरूको नियमन र सुपरीवेक्षणका लागि यथाशीघ्र प्रभावकारी संरचना बनाउने, सहकारीको नियमन र सुपरीवेक्षण गर्दा यसका मूल्य–मान्यता र सिद्धान्त अनुरूप हुनुपर्ने, सहकारी संस्थाहरूको कारोबारको आकार र गुणस्तरको आधारमा वर्गीकरण गर्ने, सहकारी क्षेत्रको विवरण सुरक्षित गर्न विद्युतीय कारोबारलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ ।

सहकारीलाई सही चरित्रमा फर्काउन सहकारी सिद्धान्त, मूल्य–मान्यता अनुरूप सञ्चालन गर्नुपर्ने हुन्छ । यस्तै,सहकारी संस्थाहरूको वित्तीय कारोबारको जोखिम न्यूनीकरणका लागि कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष, स्थिरीकरण कोष स्थापना र संचालन, आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउनुका साथै तथ्याङ्क संकलन र विश्लेषणलाई विश्वसनीय बनाउन आवश्यक रहेको सहकारी विज्ञहरुले सुझाव दिएका छन् । 

वित्तीय क्षेत्रको कुल निक्षेपमा सहकारी संस्थाको बचत अनुपात करीब १० प्रतिशत छ । अहिले समग्र देशभरी बचतकर्ताको अर्बौ रुपैयाँ बचत जोखिममा छ । अहिलेको अवस्थामा बचतकर्ताको बचत सुरक्षित छ भन्ने बलियो आधार दिनुपर्ने देखिन्छ । सरकारले यसका लागिसहकारीले पैसा फिर्ता गर्ने सहज वातावरण मिलाउने प्रतिबद्धता गर्नुपर्ने भएको अर्थविद्हरु बताउँछन् ।

Logo