थप सुन्दर बन्दै नारायणी नदी

थप सुन्दर बन्दै नारायणी नदी


भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ । यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा ६ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो ।

महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नारायणी नदी संरक्षण र आरतीस्थलको शिलान्यास गरेका छन् । सो अवसरमा महानगर प्रमुख दाहालले नदी संरक्षण अन्तर्गत पाँच चरणमा काम हुने र संरक्षणले महानगरवासीलाई सुरक्षित बनाउने बताइन् । 

नारायणी पुलमाथिको ६४० मिटरको काम सुरुआत भएको छ। अन्यचार क्षेत्रको समेत सम्झौता भई काम अघि बढेको मेयर दाहालले बताइन् । 

नारायणी नदी व्यवस्थापन आयोजनाले १५ करोड ९२ लाखको लागतमा नरायणी पुलको उत्तरतर्फको नारायणी नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागेको हो । यसका लागि गत पुस पाँच गते ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाका निर्देशक गणेश मरासिनिले जानकारी दिए । काम सम्पन्न गर्न १८ महिनाको समय दिइएको छ ।

यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण सुरु गरेको हो । २८ मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहने सो स्थलको निर्माण सम्पन्न गर्न १ करोड ७५ लाखमा ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थलमा ढुङ्गा छापिने छ । 

आरतीस्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ । आरतीस्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ । ४१ करोड १९ लाखमा ठेक्का लगाइएको जानकारी दिइएको हो ।

Logo