थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन

थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन


थानकोट–चित्लाङ सडकखण्डमा आजदेखि यातायातका साधन सञ्चालनमा आएका छन् ।

कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द गर्नुपरेको थियो । काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा बिहिबार बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काठमाडौँबाट कान्तिलोपथ हुँदै हेटौँडातर्फको यातायात सञ्चालनमा ल्याइएको थियो ।

भीमफेदी–कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई चित्लाङ–थानकोट सडक भएर सञ्चालन गरिँदै आएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताए । केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाडौँ एवं निर्माण व्यवसायी र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णयअनुसार, कार्यान्वयन गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट–चित्लाङको बाटो सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधनलाई थानकोट–चित्लाङको सडकमार्गबाट बिहिबारदेखि आगामी चैत १० गतेसम्म सञ्चालनमा ल्याउने र हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारी साधनलाई चैत्र १० गतेसम्मलाई सञ्चालनमा निरन्तरता दिइने छ । काठमाडौँबाट हेटौँडा र हेटौँडाबाट काठमाडौँतर्फ जाने करिब दुई हजार हल्का सवारीसाधन दैनिक सञ्चालन हुने गरेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिए ।

Logo