नेम्वाङले राप्रपा अध्यक्ष लिङ्देनलाई भेटेर राष्ट्रपतिमा मागे मत

नेम्वाङले राप्रपा अध्यक्ष लिङ्देनलाई भेटेर राष्ट्रपतिमा मागे मत


नेकपा(एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । 

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीवार पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन् । 

नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित त्यहाँ पुगेका थिए । भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङदेनसहित नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, धवलसमशेर राणा लगायतको उपस्थिति थियो । 

भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताए । उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बता । 

भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) की सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरुको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गरिन् । 

राप्रपा नेताहरुले उम्मेदवार स्वयं आफूहरुको कार्यालयसम्म आएर मत मागेको प्रति खुशी व्यक्त गरेका सांसद भट्टराईले उल्लेख गरिन् ।

Logo