#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32936433996165763021724310051
नेपाल718214671834153013

काठमाडौँ उपत्यकामा हर्न बजाउन कडाइ

काठमाडौँ,

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । हर्नमा कडाइ गरेसँगै महाशाखाले सोमबार १८८ सवारी साधनलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी हर्नमा कडाइ गरिएको जानकारी दिनुभयो । ध्वनिको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउने उहाँको भनाइ छ ।

महाशाखाले ०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरेको थियो । ट्राफिक प्रहरीले हालसम्म जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफा अनुसार सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५०० जरिवाना गर्न सक्ने व्यवस्था छ ।

सम्बन्धित समाचारहरु