सभामुख घिमिरेको गुनासो- मिडियाहरु चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिए

सभामुख घिमिरेको गुनासो- मिडियाहरु चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिए


सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन् । 

शुक्रवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भएपनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको बताए । 

उनले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शुन्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाएपनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको बताए । 

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको बताए । उनले संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरुको उपस्थिति नरहेको बताए । संसदले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको र त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको उनले बताए ।

उनले सञ्चारमाध्यमहरुले संसदको विषयवस्तुलाई महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको गुनासो गरे । 

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने बताए । उनले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताए । संसद सुसञ्चालन गर्नेकुरामा आफू स्पष्ट रहेको उनले बताए ।

Logo