राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भेटे सिके राउतलाई पनि, मागे मत

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भेटे सिके राउतलाई पनि, मागे मत


राष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन्  ।

शुक्रबार पार्टीका नेताहरुसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष राउतसँग भेटगरी राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गरेका हुन् । राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरुको पनि सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले बताएको भेटमा सहभागी एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उनका अनुसार राउतले जनमत पार्टीलाई मूल धारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंशा गरेका थिए । एमालेका नेताहरुले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए । 

यता, जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरुले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरुलाई बताएका थिए । संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत मागेको र आफूले पार्टीभित्र छलफल गरेर जवाफ दिने कुरा गरेको उनले बताए । 

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका लागि काँग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी केन्द्रसहितका ८ राजनीतिक दलहरुको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएको छ । 

Logo