नेपाल शिक्षक संघ लमजुङको अध्यक्षमा सूर्यबहादुर केसी

नेपाल शिक्षक संघ लमजुङको अध्यक्षमा सूर्यबहादुर केसी


शिक्षक संघको नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजार, खहरेका प्रधानाध्यापक सूर्यबहादुर केसी भारी मतान्तरले विजयी भएका छन् ।

अध्यक्ष पदका प्रत्यासी भैरवकाली माध्यमिक विद्यालय, मध्यनेपाल, रम्घाका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले २ सय ८३ मत प्राप्त गर्दा सूर्यबहादुर केसीले ४ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् । यसैगरी महिला उपाध्यक्ष पदमा सीता बरालले ३ सय ५९ मत प्राप्त विजयी भइन् भने अर्का प्रत्यासी तुलसी गुरुङले ३ सय ३३ मत प्राप्त गरिन् ।  

यसैगरी उपाध्यक्ष पदमा शैलपुत्री माध्यमिक विद्यालय, राईनासका प्रधानाध्यापक दिनेश चिलुवालले ३ सय ७३ मत प्राप्त गरेर विजयी भए भने उपाध्यक्ष पदका प्रत्यासी रणबहादुर गुरुङले ३ सय ४३ मत प्राप्त गरेका थिए । सचिव पदमा आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक राजिव पण्डितले ४ सय ९५ मत प्राप्त गरी विजयी भए भने उनका प्रत्यासी राजु राउतले २ सय २८ मत प्राप्त गरे ।
अर्थ सचिवमा प्रदिपराज घिमिरेले ३ सय ८५ मत प्राप्त गरि विजयी भए भने अर्का प्रत्यासी दिनेश गुरुङले ३ सय १८ मत प्राप्त गरेका छन् ।  यस्तै सहसचिव पदमा भरत घिमिरेले ४ सय १ मत प्राप्त गरि विजयी भए भने प्रत्यासी बेल बहादुर थापाले २ सय ९४ मत मात्र प्राप्त गरे ।

आईतबार विहान सम्पन्न मत परिणाम अनुसार सदस्यहरुमा गणेश अधिकारीले ४ सय ८५ मत, बद्रि प्रसाद पौडेलले ३ सय ६२ मत, सन्तोष भट्टराईले ४ सय ४० मत, हरिचन्द्र बरालले ३ सय ९० मत प्राप्त गरि विजयी भएका छन् । सदस्य पदका प्रत्यासी देवेन्द्र न्यौपानेले ३ सय २४ मत, बद्रिनाथ खनालले २ सय ९२ मत र हरिराज रेग्मीले २ सय ६३ मत प्राप्त गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर केसी यस अघि उपाध्यक्ष पदमा रहेर कुशल नेतृत्व गरिसकेका व्यक्ति हुन् । नेपाल शिक्षक संघको मर्म र भावनाअनुरुप शिक्षक र शिक्षा क्षेत्रको विकासको लागि काम गर्न आफू सधैं तल्लिन रहेको निर्वाचित अध्यक्ष केसीले बताउँदै आएका थिए ।

स्पष्ट रुपमा दुई प्यानलमा विभाजन भई भएको निर्वाचनमा हरिश्चन्द्र लम्सालको प्यानलबाट चुनाव लडेका उपाध्यक्ष दिनेश चिलुवाल र सदस्य सन्तोष भट्टराईले मात्र चुनावी परिणाम हात पारेका छन् । यसैगरी प्रदेश प्रतिनिधिमा दिपक खनिया, अनिल अधिकारी, बुद्धराज सेढाई, रविन्द्रनाथ घिमिरे र रमेश अधिकारी निर्वाचित भएका छन् । यसैगरी संघीय प्रतिनिधिमा शिवराज अधिकारी, विष्णुहरि वास्तोला, सोमराज चिलुवाल र रमाकान्त अधिकारी विजयी भएका छन् ।

शिक्षक संघको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, अर्थ सचिव, सहसचिव, महिला सहसचिव, महिला अर्थ सहसचिव १–१ जना उम्मेदवार हुने छन् भने समावेशी तर्फबाट २ जना सहसचिव, ३ जना महिला सहित ७ जना सदस्य, २ महिला सहित ६ जना संघीय प्रतिनिधि र २ महिला सहित ७ जना प्रदेश प्रतिनिधि हुने व्यवस्था छ । कार्यसमिति र संघीय तथा प्रदेश प्रतिनिधिमा निर्वाचित भएका बाहेक अन्य पद निर्विरोध भएका थिए । 

Logo