#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32420147987815749823423934098
नेपाल693014531843750411

नागढुंगा सुरुङमार्गका लागि सुरुङ मात्रै खन्न नौ सय टन विस्फोटक पदार्थ चाहिने

सांकेतिक तस्विर

काठमाडौं,

बहुचर्चित आयोजनाका रूपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाइएको छ। आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फोटक पदार्थ आवश्यकता परेको हो। सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९ सय टन विस्फोटक पदार्थ माग गरेको आयोजनाले जनाएको छ।

‘ब्लास्ट एन्ड ड्रिल मेथड’ अर्थात् विस्फोटन र खन्ने पद्धति अनुसार सुरुङको कामका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग भएको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताउनुभयो । ‘सुरुङ निर्माणका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग छ। यसका लागि हामीले प्रक्रिया थालिसकेका छौं।

खरिद प्रक्रियामा सहमतिका लागि फाइल उठिसकेको छ।’ –उहाँले भन्नुभयो । आयोजनाले गएको हप्ता विस्फोटक पदार्थ माग भए बमोजिम फाइल उठाई प्रक्रियामा लगिसकेको छ।

आयोजनाको माग बमोजिम विस्फोटक पदार्थ खरिद गर्न प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला सुरक्षा समिति, गृह मन्त्रालय, रक्षा मन्त्रालय हुँदै नेपाली सेनासँग सहमति लिनुपर्ने प्रावधान रहेको छ।

सेनाले सहमति दिएपछि परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावास हुँदै भारतका विभिन्न कम्पनी छनोट गरी विस्फोटक पदार्थ किन्ने तयारी निर्माण पक्षको रहेको आयोजना प्रमुख खरेलले बताउनुभयो। माओवादी विद्रोहका कारण विस्फोटक पदार्थ खरिदलाई कडाइ पार्दै सेनाको सहमति लिनुपर्ने अनिवार्य व्यवस्था छ।

यो व्यवस्थासँगै नेपाली सेनासँग भण्डारण भएको खण्डमा सेनासँग पनि खरिद गर्न सकिन्छ। तर सुरुङ निर्माण कम्पनीले भने बाहिरैबाट खरिद गरी ल्याउने सोच बनाएको आयोजना प्रमुख खरेलले जानकारी दिनुभयो।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु