युएईविरुद्ध भीमको अर्धशतक

युएईविरुद्ध भीमको अर्धशतक


नेपालका युवा ब्याटर भीम सार्कीले आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि भीमले क्रिजमा टिक्दै महत्वपूर्ण अर्धशतकीय इनिङ्स पूरा गरेका हुन् । उनले ७८ बलमा अर्धशतक बनाए । 

१७.१ ओभरमा ६८/५ को अवस्थामा पुगेको नेपालका लागि भीम र सन्दीप लामिछानेले महत्वपूर्ण साझेदारी गर्दै अघि बढाएका थिए । उनीहरुबीच ५६ रनको साझेदारी भएको थियो । सन्दीप ४० बलमा २७ रन बनाउँदै आउट भए । 

हाल नेपालले ३९ ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएर खेलिरहेको छ । क्रिजमा भीमलाई आरिफ शेखले साथ दिएका छन् । 

यसअघि नेपालले खेलको पाँचौं ओभरको दोस्रो बलमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । तीव्र गतिका बलर जुनैद सिद्दिकले उनलाई ६ रनमा पेभिलिएन फर्काएका थिए । त्यस्तै, ज्ञानेन्द्र मल्ल  ११ रनमा ८ ओभरको अन्तिम बलमा युएईका सिद्दिकले आईबीडब्ल्यूमा आउट गरे । कप्तान रोहितकुमार पौडेल पनि १ रनमै पेभेलियन फर्किए । साथै ओपनरका रुपमा आएका कुशल मल्ल पनि रोहन मुस्तफाको बलमा बोल्डआउट भए । दीपेन्द्रसींह ऐरी पनि ४ रनमै आउट भएका थिए । 

Logo