घरेलु टोली युएईमाथि नेपालको रोमाञ्चक जित, पाँचौँ स्थानमा उक्लियो

घरेलु टोली युएईमाथि नेपालको रोमाञ्चक जित, पाँचौँ स्थानमा उक्लियो


नेपालले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि रोमाञ्चक जित हात पारेको छ । सोमबार भएको खेलमा नेपालले युएईमाथि ४२ रनको महत्वपूर्ण जित निकालेको हो । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले दिएको २३० रनको विजयी लक्ष्य पछ्याएको युएई ४५ ओभरमा अलआउट हुँदै १८७ रनमै समेटिएको हो । ओपनर आसिफ खानले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ्स खेले । साथै आर्यन लाक्राले पनि ५० रनको अर्धशतकीय इनिङ्सको योगदान दिए । वृत्य अरविन्दलाई १३ रनमा एलबीडब्लू आउट भए भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसींह ऐरीले समान ३/३ विकेट दिलाए । साथै सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले समान एकएक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । नेपालका लागि युवा ब्याटर भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । उनले ९९ बलमा सर्वाधिक ७० रन जोडे । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो । साथै आरिफ शेख ४३ रनमा अविजित रहे । 

कुशल भुर्तेल घाइते भएपछि ओपनरका रुपमा आएका कुशल मल्लले ३२ रन, सन्दीप लामिछानेले २७ रन, करण केसीले १७ रन बनाए ।ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा अन्तिममा आएका प्रतिश जिसी ११ रनमै अविजित रहे ।

बलिङतर्फ युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकले सर्वाधिक ३ विकेट लिए । साथै रोहन मुस्ताफा र आर्यन लाक्राले समान २/२ विकेट लिए भने कार्तिकको नाममा एक विकेट रह्यो । 

जितसँगै नेपाल लिग -२ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौँ स्थानमा छ । युएई समान खेलमा ३१ अंकका साथ छैठौँ स्थानमा झरेको छ ।  

साथै नेपालले युएईलाई पहिलोपटक लिग -२ मा पराजित गरेको छ । युएईसँग पहिलो खेलमा ६८ रनले पराजित भएको नेपालले बदलासमेत लिएको छ । नेपालले जारी सिरिजमा यसअघि पीएनजीविरुद्ध भने दुवै खेल जितेको थियो । तर, युएई घरेलु मैदानमै चार खेलमध्ये तीन खेलमा पराजित भएको छ । उसले पीएनजीविरुद्धको दुवै खेल गुमाएको थियो । 

योसँगै नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राखेको छ तर, युएईको भने लगभग सम्भावना सकिएको छ ।अब बाँकी रहेका ४ खेलमा नेपालले शतप्रतिशत जित निकालेको खण्डमा ४० अंक हुनेछ । हाल ३९ अंकसहति तेस्रो स्थानमा रहेको नामिवियालाई पछि पार्नेछ । 

Logo