एनएसजेएफ–बजाज पल्सर स्पोर्टस् अवार्ड २०७८ आज घोषणा हुने

एनएसजेएफ–बजाज पल्सर स्पोर्टस् अवार्ड २०७८ आज घोषणा हुने


नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार एनएसजेएफ–बजाज पल्सर स्पोर्टस् अवार्ड २०७८ आयोजना गर्दैछ। १९औँ संस्करणको यो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ। ​

मञ्चले खेल क्षेत्रबाट नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई हरेक वर्ष सम्मान गर्दै आएको छ। पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड विधाको विजेता घोषणा गर्दैछ। 

वर्ष २०७८ मा उत्कृष्ट प्रदर्शन गरेकामध्येबाट पाँच विधामा ५/५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। यसअन्तर्गत पिपल्स च्वाइस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी छन्।

ई–सेवाको भोटिङ, फेसबुक लाइक, प्रमुख प्रशिक्षक र मञ्चका सदस्यको मतबाट पिपल्स अवार्डको विजेता तय हुनेछ। यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन्।

वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल छन्। वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी छन्।

वर्ष प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन्। विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन्। यस वर्षदेखि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गर्ने मञ्चले जनाएको छ। अन्य विधाका विजेताले५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन्। 

मञ्चका कार्यवाहक अध्यक्ष निरञ्जन अधिकारीका अनुसार यो पटक अवार्डमा नयाँ प्रस्तुति थपिएकोछ। ‘चर्चित अन्तर्राष्ट्रिय अवार्ड सोहरू कान्स र ओस्कारमा जस्तै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा पनि रेड कार्पेटको थालनी गर्दैछौँ। अवार्डको मुख्य समोराहको एक घण्टाअघि नै मञ्चको फेसबुक र युट्युब च्यानलमा रेड कार्पेटको प्रत्यक्ष प्रसारण हुनेछ,’ उनले भने।   

अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि छ। सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, ई–सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल गु्रप, सुबिसु र न्यु होराइजन कार्पेट इण्डष्ट्री छन्। राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र बागमती प्रदेश खेलकुद विकास परिषद् सहयोगीका रूपमा छन्।

Logo