शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सरकार दत्तचित्त भएर लागेको छ -मन्त्री शर्मा

शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सरकार दत्तचित्त भएर लागेको छ -मन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन सरकार दत्तचित्त भएर लागेको बताएकी छन् । उनले त्यसलाई सरकारको प्राथमिक कार्यभारका रूपमा लिएको स्पष्ट पारिन् ।

धादिङको गल्छीमा आजदेखि सुरु भएको सामुदायिक रेडियोहरूको दुईदिने राष्ट्रिय परामर्श सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले चालु संसद् अधिवेशनबाटै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुङ्गोमा पुर्याउने बताइन् ।

अघिल्लो संसद्मा विधेयक पेस भए पनि टुङ्गोमा पुग्न नसकेको उल्लेख गर्दै उनले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले सङ्क्रमणकालीन न्यायको काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरिन् । यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माको भनाइ छ ।

शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा विभिन्न चलखेल सुरु भएको उल्लेख गर्दै मन्त्री शर्माले द्वन्द्वकालीन मुद्दा आम मुद्दाको रूपमा भन्दा  शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायभित्र रहेर निष्कर्षमा पुर्याउनुपर्ने बताइन् ।

एक अर्को प्रसङ्गमा सरकारका प्रवक्तासमेत रहेकी शर्माले सरकार छिमेकी मुलुकसहित सबै मित्रराष्ट्रसँग सन्तुलित परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको बताइन् । कतिपय सन्दर्भमा जिम्मेवार नेताहरूले नै मुलुकको हितविपरीत अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले यस्ता सवालमा ध्यान दिनुपर्ने र राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

Logo