#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32885703995348762988324260472
नेपाल718214671834153013

काभ्रेको नमोबुद्धमा अदालतको आदेश विपरित ईंटा उत्पादन

file photo
file photo

काभ्रे,

अदालतको आदेशको अवज्ञा गर्दै जिल्लाको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले ईंटा उत्पादन तथा बिक्री वितरण थालेको छ ।

उच्च अदालत पाटन, ललितपुरद्वारा नमोबुद्धमा रहेका ईंटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो उद्योगले ईंटा उत्पादन तथा बिक्री वितरण थालेको हो ।

उच्च अदालतको आदेशको अवज्ञा गर्दै सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले ईंटा पार्न र मौज्दात ईंटा बिक्री वितरण गर्न थालेको नमोबुद्ध नपा–२ का वडाध्यक्ष एवं नगरका प्रवक्ता सञ्जीव ढकालले बताउनुभयो । उहाँका अनुसार उक्त उद्योगले केही दिनदेखि इँटा पार्ने र बिक्री वितरण गर्न थालेको छ ।

काभ्रे जिल्ला अदालतले गत कात्तिक अन्तिम साता ‘नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात ईंटासमेत बिक्री वितरण नगर्न’ गरेको फैसलाविरुद्ध उच्च अदालत पाटन गएका नमोबुद्धका इँटा व्यवसायीको मुद्दामा मङ्सिर ८ गते न्यायाधीश श्रीमणकुमार गौतमको एकल इजलासले मङ्सिर १५ गते ‘अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकास दिन उपयुक्त देखिएकाले’ दुवै पक्षलाई छलफलमा राख्नुपर्ने जनाउँदै दुवै पक्षलाई इँटा उद्योगको नवीकरण नगर्न, कर लगाउने तथा उद्योग सञ्चालन गर्ने लगायतको कुनै पनि कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

नगर कार्यालयले ‘सम्झौता बमोजिम क्षतिपूर्ति भराई पाऊँ’ भनी जिल्ला अदालतमा दर्ता जाहेरीमा न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले नमोबुद्धका इँटा उद्योगलाई नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्री वितरण नगर्न आदेश जारी गरेको थियो । अदालतको अवज्ञाविरुद्ध नगर कार्यालयले पुनः अदालतमा जाने तयारी गरिरहेको नगरका प्रवक्ता ढकालले बताउनुभयो ।

गत वर्ष पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच २०७६ असार मसान्तभित्र काभ्रेको नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ वटा इँटा उद्योग हटाउन आठ बुँदे सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई पत्राचार गरी हटाउन निर्देशन दिए पनि नहटाएका कारण नगर कार्यालयले गत भदौ ८ गते वडा नं २ र ३ मा सञ्चालन हुँदै आएका आठ इँटा उद्योगको भट्टाचिम्नी मेसिन (क्रेन) को प्रयोग गरी भत्काएको थियो । सहमतिमा उल्लेखित बमोजिम नपाले व्यवसायीसँग भट्टाचिम्नी भत्काउँदाको लागत खर्च ‘सम्झौता बमोजिम क्षतिपूर्ति भराई पाऊँ’ भनी अदालतमार्फत माग गरेको थियो ।

इँटा व्यवसायी र नगरबीच ०७६ असार मसान्तभित्र उत्पादित इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाइने, नपासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नविनतम् वातावरणमैत्री प्रविधि अनुरुप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, तोकिएको समयसीमाभित्र इँटा उद्योग नहटाए नपा आफैँले हटाउने र सोको लागेको खर्च उद्योगीले नै व्यहोर्नुपर्ने, हाल उत्पादित इँटा नगरका भूकम्पपीडितका लागि सम्बन्धित वडाको सिफारिशमा व्यवसायीले तोकेको मूल्यभन्दा प्रतिगोटा तीन छुट दिनुपर्ने लगायत सम्झौता गरिएको थियो ।

साथै, उल्लेखित बुँदा सम्झौतापत्रमा करार बमोजिम र उल्लेखित नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन २०७४ र प्रचलित नेपाल कानून बमोजिम हुने समेत उल्लेख छ । काभ्रेमा रहेका २० मध्ये नमोबुद्धमा आठ इँटा उद्योग सञ्चालन हुँदै आएका थिए ।
रासस

सम्बन्धित समाचारहरु