‘गठबन्धनमा जनमतकै उम्मेदवारमा सहमति हुन्छ, नभए मित्रवत् प्रतिष्पर्धा’ -सीके राउत

‘गठबन्धनमा जनमतकै उम्मेदवारमा सहमति हुन्छ, नभए मित्रवत् प्रतिष्पर्धा’ -सीके राउत


जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन् । 

शनिवार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राउतले गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीको उम्मेदवारी दर्ता गराएको बताएका हुन् । उनले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्नेकुरा भएको जानकारी दिए । 

उनले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गरे ।  
 
‘मलाई पूरा विश्वास छ हाम्रो साझा उम्मेदवार हुनुहुन्छ, ममताजी उहाँकै पक्षमा निर्णय हुनेछ भन्ने । हामी अन्तिममा केही मिलेन भने मित्रवत् प्रतिष्पर्धा हुन्छ । हाम्रो उम्मेदवार सशक्त हुनुहुन्छ । संविधानको रक्षाको लागि तत्पर हुनुहुन्छ । कानूनी पृष्ठभूमिबाट हुनुहुन्छ । उहाँ योग्य हुनुहुन्छ हरेक दृष्टिकोणबाट । त्यहीभएर उहाँले जित्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । अन्तिम बटमलाइन भनेको मित्रवत प्रतिष्पर्धा हुन्छ ।’ उनले भने । 
 
त्यस्तै, जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको बताइन् ।  आफू संविधानलाई सशक्त रुपमा पालना गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको उनले बताइन् । 

Logo