साहित्य क्षेत्रमा देखा परेको दोधार

साहित्य, प्रेम, र जिन्दगीको कुनै निश्चित परिभाषा हुँदैन । जसले जसरी भोग्यो त्यसरी नै यी विषय परिभाषित हुँदै आएका छन् । प्रेम र जिन्दगी मान्छेका व्यक्तिगत कुरा हुन् । त्यसैले यी कुरालाई जसरी परिभाषित गरे पनि खासै फरक परेको देखिँदैन र यसमा विवाद पनि देखिँदैन । तर, साहित्य व्यक्तिगत कुरा होइन त्यसैले बारबार यसमा विवाद भइरहन्छ । र, सबैले आफ्नो फरकफरक मत दिइरहेका हुन्छन् साहित्यका बारेमा । आफ्नो विचार र भोगाइलाई नै पूर्ण हो भनेर मत दिनेहरूको जमात पनि यहाँ निकै ठूलो छ ।

साहित्यलाई दुई तरिकाले परिभाषित गर्ने वर्ग यहाँ छन् । जसले गर्दा साहित्यको बजारमा के माग छ भन्ने कुरा निकै अलमलमा परेको देखिन्छ ।

साहित्यलाई पढ्ने मात्र हो या व्यवसायीकरण गर्ने भन्ने मतले साहित्यलाई जोखिममा पारेको जस्तो भान भइरहेको परिप्रेक्ष्यमा नयाँ पुस्ताको प्रवेश पनि कहीँ कतै अलमलिएको जस्तो देखिएको छ ।

पुराना साहित्यका कतिपय पुस्तकहरू नयाँ पुस्ताका पाठकले मात्र होइन साहित्यकारले समेत बुझ्न नसकेका अवस्था पनि छन् । साहित्य भनेको सबैले बुझिने हुनुपर्छ भन्ने कुरा एक प्रकारका साहित्यकारहरूको बुझाइ छ भने अर्का किसिमका साहित्यकारहरू सीमाभित्र बसेर मात्र साहित्य लेख्नुपर्छ भन्छन् । यो जमातले साहित्यलाई त्यति व्यवसायी बन्न दिएको देखिदैन । नयाँ पुस्ताले भने साहित्यलाई व्यवसायीकरण गर्ने कोसिस गरेको पाइन थालेको छ, जुन निकै सुखद कुरा पनि हो ।

साहित्यका विभिन्न विधामा कलम चलाएर लेखकहरू देशविदेश घुमिरहेका छन् । यो साहित्यका लागि सकारात्मक पक्ष हो तर यो पक्षलाई नपचाउने लेखकहरूको पनि कमी छैन । साहित्य लेखेर देशविदेश घुम्ने क्षमता राख्नु लेखकका लागि मात्र नभएर सिँगो साहित्यकै लागि खुसीको कुरा हो । साथै, यसले साहित्य व्यवसायीकरण हुँदै छ भन्ने शुभ संकेत पनि दिन्छ । नेपाली साहित्यलाई विदेशी भूमिसम्म पुर्‍याउनु राम्रो पक्ष पनि हो । विदेशमा रहेका नेपालीहरूले विदेशमै बसेर आफूलाई रुचि भएका विषयमा कलम चलाइरहेका छन् । उनीहरूले नेपालमा आएर पुस्तकहरू प्रकाशन गर्ने चलन पनि पछिल्लो समय निकै फस्टाएको छ । विदेशमै बसेर नेपाली साहित्यलाई माया र सम्वर्धन गर्ने परम्परा बढ्दै गइरहेको भए पनि विदेशमा भएका नेपाली पाठक समक्ष पुस्तक पुर्‍याउन भने सकिएको छैन ।

साहित्य समाजको दर्पण हो भनिन्छ । त्यसकारण पनि दर्पणमा चित्र छर्लंग देखिएजस्तो साहित्यमा समाजका विविध विषयहरू देखिनुपर्छ । सबैले बुझ्न सक्ने भाषा शैलीमा लेखिएको हुनुपर्छ भन्ने मान्यता एकथरी साहित्यकारहरूको रहेको छ भने साहित्य अप्ठ्यारा शब्दहरूद्वारा लेखिनुपर्छ, पाठकले भन्दा पनि लेखक र अन्य साहित्यकारहरूले बुझे पुग्छ भन्ने धारणा अर्काथरीका साहित्यकारको रहिआएको छ । जसले गर्दा लेखकसाहित्यकारहरू बीच दुई मत देखिएको छ ।

नेपाली साहित्यको यति सानो बजारमा पनि दुई प्रकारका मतको सौदाबाजी चलिरहेको अवस्थामा नेपाली साहित्यले कसरी आफ्ना खुट्टा दह्रो गरी टेक्ला ? प्रश्न उठ्छ तर उत्तर कसैसँग छैन । दुई भिन्न मतले आआफ्नो अडान नछोडेसम्म साहित्य बजारले एउटा महत्वपूर्ण निकास पाउँदैन । निकास नपाएसम्म बजार व्यवस्थापन बलियो हुँदैन । फितलो बजार व्यवस्थापनले पुस्तक जति नै उत्कृष्ट भए पनि त्यसले राम्रो व्यवसाय गर्न सक्दैन र आर्थिक रूपमा त्यो प्रकाशक होस् या लेखक द’वै मारमा पर्छन् । आफूले गरेको कामबाट आर्थिक रूपमा सवल नभएपछि मान्छे त्यो कामबाट सन्तुष्ट हुन सक्दैन । मेहनत र समय खर्चिएको कामबाट सन्तुष्ट हुन सकेन भने मान्छेले बाटो अन्तै मोड्छ या रहरको रूपमा मात्र लेख्न थाल्छ । जुन काम व्यवसायीकरण हुँदैन त्यसमा प्रतिस्पर्धा हुँदैन । र, प्रतिस्पर्धा बिनाको काममा स्तरको कमी हुन्छ जसका कारण हामीले साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सकिरहेका छैनौं ।

ताजा समाचार

साहित्य क्षेत्रमा देखा परेको दोधार