माओवादीप्रति ओलीकाे टिप्पणी- हाम्रा बन्दुकमा खिया लागेको छैन भन्दै तर्साउँदैछन्

माओवादीप्रति ओलीकाे टिप्पणी- हाम्रा बन्दुकमा खिया लागेको छैन भन्दै तर्साउँदैछन्


नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् । 

माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताएका हुन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मानव अधिकारको रक्षाका लागि लड्न पार्टी निकट मानव अधिकार एलाईन्सलाई निर्देशन समेत दिए । 

अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाईन्सलाई सचेत गराए । 

उनले भने, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन । यो हुँदैन भन्न सकिँदैन । त्यसकारण हाम्रो एलाईन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनु पर्दछ । मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, त्यसका रक्षाका निम्ति लडन सक्ने त्यो हुनु पर्दछ । एक्लै भयो भने फाँसी दिन सक्छन् ।’

साथै अध्यक्ष ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पनि बताएका छन् । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको उनको तर्क थियो ।  

Logo