कतारमा हुने दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल सहभागी

कतारमा हुने दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल सहभागी


कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । 

कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा आजदेखि मार्च १९ सम्म हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो । उक्त प्रदर्शनीमा भाग लिन महासङ्घका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा आज २१ निर्यात व्यवसायी कतार प्रस्थान गरेको महासङ्घका कार्यालय सचिव दीपेश घिमिरेले जानकारी दिए ।
 
उक्त प्रदर्शनीमा नेपालका तर्फबाट चिया, जडीबुटी, अलैँची, अदुवा, डेरीका उत्पादन तथा वस्तुगत सङ्घको प्रतिनिधित्व रहने घिमिरेले बताए । सोही प्रदर्शनीमा अल्टरनेटिभ हर्बल प्रोडक्टस् प्रालि, हिमालयन बायो ट्रेड, कन्चनजङ्घा टिस्टेट, इलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड, एभरेष्ट लार्ज कार्डमम् उद्योगको सहभागिता रहनेछ ।
 
कतार र नेपालको व्यवसायिक सम्बन्ध वैदेशिक रोजगारको गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचान र प्रवरद्धनका लागि मेलामा सहभागी भएको जनाइएको छ । कतार सरकार, नेपाल सरकार नेपाली राजदूतावास, निर्यात व्यवसायी महासङ्घको संयुक्त प्रयासमा छदिने मेलामा सहभागिता जनाइएको हो । 

प्रदर्शनीमा नेपाल र कतारका व्यवसायीबीच ‘विटुवी मिटिङ’ र व्यावसायिक सम्झौता गरिने महासङ्घले जनाएको छ । कतार र नेपालको व्यावसायिक सम्बन्धमा उक्त प्रदर्शनी र दुई संस्थाबीच हुने सम्झौताले नेपालका मौलिक उत्पादन र निर्यात व्यापार प्रवर्द्धनमा थप सहयोग पुग्ने महासङ्घले विश्वास लिएको छ । 

Logo