उद्योगीहरू सेजनमा

उद्योगी व्यवसायीहरुले मुलुकमा अझै पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन् । .

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगीहरूले नीतिगत रूपमा लगानीको वातावरण बनेको भए पनि व्यवहारमा बन्न नसकेको गुनासो गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरू सकारात्मक भए पनि व्यापार घाटा उच्च हुनु र लगानीको वातावरण बन्न नसक्नुले निजी क्षेत्र प्रोत्साहित हुन नसकेको बताए । उनले सम्पत्ती अभिलेखीकरण नभई सुद्धिकरण हुनुले लगानी बढ्न नसकेको बताए । बैंकको ब्याजदर उच्च भएका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिएको उनको भनाइ थियो  ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले औद्योगिक क्षेत्रमा आउने वैदेशिक लगानीमा पनि डलरको भाउ घटबढ हुँदा हुने जोखिम कम गर्न हेजिङ सुविधा दिनुपर्ने बताए । उनले हेजिङ ऐन लागू भए पनि त्यसले सबै क्षेत्र समेटन नसकेको र वैदेशिक लगानी प्रभावित भएको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले तत्काल औद्योगिक उत्पादन बढ्न नसक्ने भएकाले साना उद्योगीहरुले उत्पादन गरेका वस्तुहरुलाई निर्यात गर्न सरकारले ध्यान दिनुपर्ने बताए । उनले गाउँगाउँमा उत्पादन हुने वस्तुहरूको बजारीकरणका लागि सरकारले चासो नदिएको गुनासो समेत गरे ।

उद्योगीहरूले मुलुकमा वैदेशिक लगानी भित्र्याउन विभिन्न पहलहरू भए पनि लगानी बढ्न नसकेको बताएका छन् । त्यस्तै उद्योगीहरूले खुला बजार अर्थतन्त्रमा नियामक निकाय राष्ट्र बैंकले ब्याजदरमा नियमन गर्न नसक्दा औद्योगिक क्षेत्र प्रभावित भएको बताएका छन् ।

ताजा समाचार

उद्योगीहरू सेजनमा