हेभिवेट भिडन्तमा चर्च व्वाईज र मच्छिन्द्रले अंक बाँडे

हेभिवेट भिडन्तमा चर्च व्वाईज र मच्छिन्द्रले अंक बाँडे


यसै सिजन बढुवा हुँदै स्टार खेलाडीलाई अनुवन्ध गरेको चर्च ब्वाईज युनाईटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लवले राजाधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

च्यासल मैदानमा भएको खेलमा स्टार खेलाडीले भरिएको चर्च ब्वाईजले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा डिफेन्डङ च्याम्प्यिनसँग अंक बाँड्न बाध्य भएको हो । स्पष्ट अंक निकाल्ने रणनीतिका साथ आक्रामक फुटबल खेलेका दुवै टोली अग्रपंक्तिमा चुकेका थिए ।

यस बराबरीसँगै चर्च ब्वाइजले पाँच खेलमा ११ अंक जोड्दा मच्छिन्द्रको समान खेलबाट पाँच अंक भएको छ । 

मच्छिन्द्रले नवप्रवेशीसँग अंक खोस्न असफल हुँदा तालिकामा अगाडि चढ्न कठिन भएको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा ११ औं मिनेटमा चर्च ब्वाईजले पहिलो अवसर खेर फाल्न पुगेको थियो । आशिष चौधरीले प्रहार गरेको बल पोस्ट बारमा लाग्दै बाहिरिएको थियो । २७ औं मिनेटमा आशिष चौधरीले उपलब्ध गराएको पासमा आशिष चापागाईं पेनाल्टी क्षेत्रमा चुके । खेलको ३१ औं मिनेटमा मछिन्द्रका उत्सव राईको प्रहार सेकेन्ड बार नजिकैबाट चर्च ब्वाइजका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे । 

खेलको ४० औं मिनेटमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठको कर्नर प्रहारमा देवेन्द्र तामाङको टार्गेटले सही दिशा लिन सकेन । ४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि मच्छिन्द्र १० खेलाडीमा समेटिएको थियो । पुजनले चर्च ब्वाईजका जोसेफ बेम्पालाई कुहिनोले प्रहार गरेपछि रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।

दोस्रो हाफमा १० खेलाडीमा समेटिएको मच्छिन्द्रले दर्जनौ प्रयास गरेपनि गोल गर्न असफल रह्यो । ५५ औं मिनेटमा आशिष चौधरीको पेनाल्टी बक्स भित्रको प्रहार फितलो रह्यो । बाँकी समयमा मच्छिन्द्र रक्षात्मक खेल्दा चर्च ब्वाईजको आक्रामक रणनीति विफल नै रह्यो र खेल गोलरहित बराबरीमा टुङ्गीएको हो । 

लिगका शुरुवाती तीन खेलमा क्रमशः नेपाल पुलिस क्लव, एफसी खुमलटार र हिमालयन शेर्पा क्लवलाई पराजित गर्दै चर्चा कमाएको चर्च ब्वाइज चौथो खेलमा भने संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो । उता शुरुवाती दुई खेलमा क्रमशः जावलाखेल र त्रिभुवन आर्मी फुटबल क्लवसँग पराजय ब्यहोरेको मच्छिन्द्रले तेस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई गोलरहित बराबरीमा रोकेको थियो भने चौथो खेलमा मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लवलाई हराएको थियो । 

उपाधि दाबेदार मानिएको मच्छिन्द्रले जारी लिगमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको छैन ।

लिग अन्तर्गत शुक्रवार नै एन्फा मैदानमा भएको अर्को खेलमा जावलाखेल युथ क्लवले थ्रीस्टार क्लवमाथि १–० को रोमाञ्चक जित निकालेको छ ।  

लिगमा शनिवार पाँचौ चरणका अन्तिम तीन खेल हुनेछन् । पहिलो खेल च्यासल मैदानमा फ्रेन्ड्स र त्रिभुवन आर्मी क्लवबीच हुनेछ भने दोस्रो खेल विभागीय टोली नेपाल पुलिस र न्युरोड टिम एनआरटीबीच दशरथ रंगशालामा साढे २ बजे हुनेछन् । यस्तै तेस्रो खेल दरशथ रंगशालामा साढे ५ बजे मनाङ मस्र्याङ्दी र विभागीय टोली एपिएफबीच प्रतिष्पर्धा हुनेछ । 

Logo