सेनाले ‘सफा हिमाल अभियान’ सञ्चालन गर्दै

सेनाले ‘सफा हिमाल अभियान’ सञ्चालन गर्दै


नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ ।

उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ  । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकृति र पर्यावरण  प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ । विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण राख्ने सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।
 
सन् १९५३ मा तञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेयता सगरमाथामा मात्रै करिब १४ हजार टन फोहर तथा तीन सयभन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको छ । सेनाको अगुवाइमा सफाइसँग सरोकार राख्ने विभिन्न सरकारी एवं गैरसरकारी सङ्घ संस्थासँगको समन्वयन र सहकार्यमा अभियान सञ्चालन हुँदैआएको छ ।

प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पु¥याएका असरलाई कम गर्ने तथा पर्वतीय अर्थतन्त्र अभिवृद्धि गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको छ । पर्यटक र पर्वतारोहीलाई आकर्षित गर्न तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियानले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

यस वर्षको अभियानका लागि पूर्वतयारी र समन्वय तथा तालिम सञ्चालन र जनशक्तिको चयनसमेत भइसकेको छ । अभियानमा सगरमाथा र ल्होत्सेका प्रमुख सेनानीसहित १३, बरुञ्चेमा सेनानीसहित नौ, अन्नपूर्णमा सहसेनानीसहित १० जना सैनिक टोलीसहित अन्य शेर्पा सहयोगी रहने छन् । सेनाका अनुसार, अभियान यही चैत १४ देखि आगामी जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि सन् २०१९ मा सगरमाथाबाट कुहिने र नकुहिने गरी १० हजार आठ सय किलो र चार मानव मृत शरीर तथा सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालबाट  २७ हजार छ सय ७१ किलो फोहर सङ्कलन भएको थियो ।

सेनाका अनुसार, सन् २०२२ मा सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्गा हिमालबाट कुहिने सात हजार एक सय ५७ र नकुहिने ३३ हजार आठ सय ७७ केजीसहित दुई वटा मानव कङ्कालसमेत सङ्कलन गरिएको थियो । सेनाको नेतृत्वमा अभियानमा पर्यटन र  वातावरण विभाग, खुम्बु पासाङ ल्हामु र अन्नपूर्ण गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालय, हिमालय रेस्क्यु एसोसिएसन, एक्सपिडीसन अपरेटर एसोसिएसन, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ ।
 
सगरमाथा प्रदूषण नियन्त्रण कमिटी, कञ्चनजङ्गा र मनास्लु संरक्षण आयोजना, विभिन्न प्रदेश तथा स्थानीय तह, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रको समेत अभियानमा सहकार्य हुनेछ । प्रकृतिका अनुपम वरदानमध्ये मोतीजस्तै टल्कने हिमाली शृङ्खलाले नेपाललाई विश्वमै परिचित र समृद्ध तुल्याएको छ ।

नेपाल र नेपालीको पहिचानलाई सगरमाथाको उचाइले संसारभर नै गौरव बढाएको छ । सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहणको यात्रामा स्वदेशी तथा विदेशी गरी हजाराैँको सहभागी भइसकेका छन् । पछिल्ला वर्षमा हिमाल आरोहण देखिएको आकर्षणले हिमाल र हिमाली क्षेत्रमा भएको प्रदूषणले हिमालको साख र सुन्दरता कायम राख्न चुनौती खडा गरेको छ ।
     
सोही पक्षलाई दृष्टिगत गर्दै सेनाले प्रकृति र पर्यावरण संरक्षणमा सहयोग गर्ने हेतुले ‘सफा हिमाल अभियान’ सञ्चालनलाई प्राथमिकतामा राखेर काम गर्दैआएको छ । सेनाले विसं २०७६ बाट सफा हिमाल अभियान सुरु गरेको हो । नेपालका हिमशृङ्खला विश्वका साहसिक पर्यटकको रोजाइको पहिलो गन्तव्य हुन् ।

अभियानअन्तर्गत सङ्कलन गरिएका पुनः प्रशोधन गर्न सकिने फोहर काठमाडौँ ल्याइने गरिएको छ भने कुहिने फोहर स्थानीय निकायसँगको सहकार्यमा तत् तत् क्षेत्रमै व्यवस्थापन गरिँदैआएको छ । अभियानका क्रममा समुदायसँग सहकार्य गर्दै सम्बन्धित हिमालसम्म पुग्ने पदमार्ग र इलाकामा पर्ने बस्तीमा फोहर सफा गर्नुभन्दा फोहर नै हुन नदिन सचेतना कार्यक्रम पनि सञ्चालन गरिँदैआएको छ । सफा हिमाल अभियान प्रकृति र पर्यावरण सरक्षणमा नयाँ आयाम बनेको प्रवक्ता भण्डारी बताउछन् । अभियानका क्रममा सेनाको  टोलीले तत्तत्  हिमाल आरोणको प्रयास गर्नेछ ।

राष्ट्रिय सुरक्षा, प्रकृति संरक्षण, विकास निर्माण, विश्व शान्ति स्थापना र विपद व्यवस्थापनलगायत हिमाल संरक्षणमा समेत सेनाको महत्वपूर्ण योगदान हुँदै आएको छ ।

Logo