वाणिज्य विभागद्वारा उपभोक्तालाई सचेत रहन आग्रह

वाणिज्य विभागद्वारा उपभोक्तालाई सचेत रहन आग्रह


काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष विक्रीको नाउँमा केही कम्पनीहरुले नेटवर्किङ व्यवसाय गरेको विषयमा सचेत रहेको बताएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पिरामिड प्रकृतिको नेटवर्किङ व्यवसाय गर्नेगरी शंकास्पद गतिविधि गर्ने कम्पनीहरुलाई सचेत गराइएको बताएका हुन् । उनले त्यस्ता कम्पनीहरुलाई विभागले क्लिनचिट दिएको भन्ने विषयमा सत्यता नरहेको बताए । प्रत्यक्ष विक्री (डाइरेक्ट सेलिङ) के हो भन्ने सम्बन्धमा इजाजत प्राप्त केही संस्था र स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरुलाई जानकारी गराउने काम भएको महानिर्देशक सुवेदीले बताए । उनले केही कम्पनीमाथि शंका लागेकाले सचेत गराइएको र फेरी पनि त्यस्तै हर्कद देखाए कारबाही गरिने बताए । उनले कुनै पनि कम्पनीले वेबसाइट अथवा आधिकारीक कागजातमा पिरामिड शैलीबाट व्यवसाय गर्ने गरी राखेको पाइए कानून अनुसार कारबाही गरिने बताए ।

कानूनी रुपमा आउनेलाई प्रोत्साहन गर्ने तर कानून विपरित गतिविधि गर्नेलाई कारबाही गरिने महानिर्देशक सुवेदीले बताए । वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन ०७४ र नियमावली ०७६ भर्खरै कार्यान्वयनमा आएकाले वस्तुको प्रत्यक्ष विक्री गर्न इजाजत पाएका कम्पनीलाई विभागले मौजुदा कानूनको प्रावधान अनुसार काम गर्ने अनुमति दिएको बताए । विभागका निर्देशक रविन्द्र आचार्यले केही कम्पनीले वेबसाइटमा नेटवर्किङसँग सम्बन्धित पिरामिड शैलीका सामग्रीहरु राखेको जानकारी आएपछि हटाउन निर्देशन दिइएको बताए । उनले विभागका कुनै पनि कर्मचारीले बदमासी गरी इजाजत गरेको छ भने त्यो अक्षम्य भएकाले कारबाहीका लागि प्रतिवद्ध रहेको बताए ।

विभागबाट प्रत्यक्ष वस्तु विक्री गर्न इजाजत लिएका केही कम्पनीहरुले मल्टी लेभल मार्केटिङ (एमएलएम) गर्ने कम्पनी भन्दै पिरामिड शैलीमा मार्केटिङ गरिरहेका छन् । नेपालमा नेटवर्किङ र मल्टी लेभल मार्केटिङलाई अवैधानिक मानिएको छ ।

 

Logo