फ्रान्सको संसद भवन अगाडि विरोध प्रदर्शन गर्न नपाइने

फ्रान्सको संसद भवन अगाडि विरोध प्रदर्शन गर्न नपाइने


फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले संसद्मा मतदान बिना नै अलोकप्रिय निबृत्तिभरण (पेन्सन) सुधारको घोषणा गरेपछि फ्रान्सले शनिबार संसद अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

म्याक्रोँको सरकारले बिहीबार कार्यकारी अधिकार प्रयोग गरी उक्त विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा भने शान्तिपूर्ण जुलुस निकालिएको छ । यो कदमले राजनीतिक वर्गमा आक्रोश पैदा गर्नुका साथै सडकमा विरोध प्रदर्शन थप आक्रामक बनेको छ । 

आफ्नो दोस्रो र अन्तिम जनादेशको एक वर्षभन्दा कम समयमा पेन्सन सुधार कार्यक्रमले ४५ वर्षीय नेता म्याक्रोँलाई सबैभन्दा ठूलो चुनौती प्रस्तुत गरेको छ । संसदीय स्रोतका अनुसार विपक्षी सांसदले सोमबार अपराह्न संसद्मा छलफल हुने गरी सरकारविरुद्ध अविश्वासको दुई प्रस्ताव दर्ता गराएका छन् ।

उनीहरूले मन्त्री परिषद्लाई अपदस्थ गर्न र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ पु-याउने कानूनलाई खारेज गर्न पर्याप्त समर्थन प्राप्त गर्ने आशा गरेका छन् । पेरिसमा प्रदर्शनकारी र प्रहरीबीच पछिल्लो दुई रात भएको झडपपछि प्रहरीले शनिबार राजधानीको ‘प्लेस डे ला कोनकोर्ड’मा संसद भवन लक्षित सेन नदीपारीको प्रदर्शनलाई निषेध गरेको हो । ‘सार्वजनिक सुव्यवस्थामा खलल पर्ने गम्भीर जोखिमका कारण’ उसले यस्तो कदम चालेको जनाएको छ ।

Logo