यातायात व्यवसायी र मजदूर संगठनद्वारा तत्काल लामो दूरीको यातायात खोल्न सरकारसँग माग

यातायात व्यवसायी र मजदूर संगठनद्वारा तत्काल लामो दूरीको यातायात खोल्न सरकारसँग माग


काठमाडौं ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चार महिना लकडाउन हुँदा लामो तथा छोटो दुरीका सार्वजनिक यातायात बन्द रहेका थिए । तर सरकारले दुई साता अगाडी देखि छोटो दूरीका सवारी साधन सञ्चालनको लागि अनुमति दिएको थियो ।

सरकारको अनुमतिसँगै काठमाडौं उपत्यकामा केही यातायात कम्पनीहरुले सरकारको मापदण्ड अनुसार यातायात सञ्चालन गरे तापनि यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा विभिन्न यातायात मजदूर संगठनहरुले विभिन्न माग राख्दै माग पूरा नभएसम्म सवारी सञ्चालन गरेका थिएनन् । तर गत साउन ८ गतेदेखि छोटो दूरीका सम्पूर्ण यातायात सञ्चालनमा आएका छन् ।

छोटो दूरीमा यातायात सञ्चालनमा आए पनि लामो दूरीका यातायात भने भदौ १ गते सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । सरकारले भदौदेखि सञ्चालन गर्न भने पनि यातायात व्यवसायी तथा यातायात मजदूर संगठनहरुले तुरुन्तै सबै खालका लामो, मध्यम र छोटो दूरीका सार्वजनिक सवारी खोल्ने वातावरण बनाउन माग गरेका छन् ।

सरकारले भदौ १ गतेदेखि लामो र मध्यम दूरीका सवारी पनि चलाउने निर्णय गरेको छ । अहिले सम्बन्धित जिल्ला र काठमाडौं उपत्यकाभित्रको सवारी मात्रै चलिरहेका छन् ।

यसले गर्दा जिल्लाभित्रको लामो दूरीको सीमानासम्म यात्रुले यात्रा गर्ने र त्यहाँबाट जोखिमपूर्ण र कष्टपूर्ण रुपमा जिल्ला पार गरेर अर्को सवारी समात्नु पर्ने बाध्यता भएको भन्दै लामो दूरीमा पनि सवारी चलाउने वातावरण बनाउन माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सोमबार महासंघ, नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै एक जिल्लाबाट अर्को जिल्लामा जानु पर्ने यात्रुले झिटिगुन्टा, बालबच्चा बोकेर, घाम पानी झेलेर पैदल हिँड्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसले गर्दा बालबालिका र वृद्धवृद्धा बढी समस्या परेको भन्दै यी संघसंस्थाले अव्यवहारिक निर्णय उल्ट्याएर सबै खालका रुटमा सार्वजनिक सवारी चलाउन दिन सरकारसँग माग गरेका छन् । कोरोना सवारीसाधनबाट नभई मान्छेबाट मान्छेमा सर्ने भएकाले त्यसलाई ध्यानमा राखेर सतर्कतासहित सवारी चलाउन दिनु पर्ने माग उनीहरुको छ ।

त्यस्तै, पछिल्लो समय लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा नआएको मौका छोपेर निजी सवारी साधनले मन लागि भाडा असुल्न थालेका छन् । लकडाउनको अवधीमा गाउँघरमा गएका तर लकडाउन अन्त्यसँगै उपत्यकाका कार्यालयहरु खुल्न थालेकाले मानिसहरु काठमाडौं उपत्यकामा आउनको लागि सामान्य अवस्थामा ६ सय भाडा लाग्ने ठाउँबाट ७ हजार भन्दा बढीसम्म भाडा तिरेर उपत्यका आइरहेकाले सरकारले यो कार्यलाई तत्काल रोक्न पनि आग्रह गरेका सिटौलाले बताए ।

उनले सरकारलाई हामीले यस भन्दा अगाडी पनि निजी सवारी साधनलाई यात्रु बोक्न रोक लगाउन अनुरोध गरेकोमा अहिलेसम्म पनि कार्यान्वयनमा नआएको बताए ।

नीजि सवारीले चर्को भाडामा यात्रु ओसार्दै

लकडाउन हटेसँगै काठमाडौं उपत्यकामा नीजि सवारी साधनले यात्रु बोक्न थालेका छन् । विभिन्न निजी सवारी साधनले सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन गर्दै यात्रु ओसार्न थालेका छन् । उनीहरुले यात्राको लागि सर्वसुलभ भाडामा यात्रा गराउने भन्दै जानकारीको लागि सूचना दिएको लेखेका छन् । नीजि सवारीले अस्पतालको नक्कली बिरामीको पास बनाएर यात्रुहरुसँग ५ हजारसम्म भाडा लिने गरेको समेत यातायात व्यवसायीहरुले बताएका छन् । केही दिन अगाडी रामेछापको मन्थलीबाट काठमाडौंसम्म आएको ५ हजार भाडा लिएर यात्रु ल्याएको थियो । तर सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मन्थलीबाट ५ सय रुपैयाँ भाडा लाग्ने गरेको थियो ।

Logo