#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1120672252940343218006355519
नेपाल152593290846143

नेपाली मौलिकताको संरक्षणमा समर्पित ‘प्राचीन क्याफे एण्ड रेष्ट्रो’ (भिडियोसहित)

  • प्रसुन संग्रौला –

धेरैले बिर्सिसकेका, कतिपयका स्मृतिमा मात्र जीवित रहेका अनि नयाँ पुस्ताले देख्न नपाएका परम्परागत नेपाली सामग्रीहरूको प्रयोग गरी चिटिक्क बनाइएको रेष्टुरेन्टको बान्की, त्यसमाथि स्वादिष्ट खान्की !

जहाँ पुग्दा जीवन अतीतको कुनै पल सम्झन थाल्छ, पितापुर्खाले भोगचलन गरेका मौलिक नेपाली सरसामग्रीसँग साक्षात्कार गरेर रमाउन सक्छ । अनि सबैभन्दा ठूलो कुरा त आदिवासी जीवनकै झल्को मिल्ने किसिमले रुखको टुप्पामा बनाइएको कटेजमा बसेर विभिन्न परिकारको स्वादमा जिब्रो फट्कार्न सकिन्छ ।

यहाँ कुरा हुँदै छ, हजारौ रेष्टुरेन्टको भीडमा अलग पहिचान बोक्न सफल ‘प्राचीन क्याफे एण्ड रेष्ट्रो’ को । झापाको विर्तामोडस्थित यो एउटा यस्तो रेष्टुरेन्ट हो जुन हरेक कोणबाट विशेष छ । यहाँ उपलब्ध हुने खानाको परिकार, यहाँको सजावट तथा यहाँ राखिएका विभिन्न सामग्रीहरूले प्राचीनलाई फरक रूप एवं पहिचान दिएका छन् ।

प्राचीनको प्रवेशद्वारमा पाइला टेक्नेबित्तिकै बिलकुलै फरक अनुभूति हुन्छ । त्यहाँ देखिने सजावट र सजावटका लागि प्रयोग भएका वस्तुहरू मौलिक नेपाली परम्पराको साक्ष्य प्रस्तुत गर्छन् । ठेकी, हर्पे, ओखलमुङ्ग्री, ढिकी, जाँतो, बिरिम, कित्लीजस्ता घरायसी सामग्री चिटिक्क सजाएर राखिएका छन् । अनि छन् लाल्टिन र सारङ्गी । अर्कातिर कसौंडी र कित्लीजस्ता पुराना भाँडाहरू सजिएका छन् । त्यस्तै एकातिर हलो गर्वका साथ ठडिएको छ । यति मात्र होइन, पुराना मोडलका टिभी, एमपी थिएटर, ग्रामाफोन, क्यासेटजस्ता संगीत र मनोरञ्जनका सामग्रीलाई पनि सजाइएको छ ।

विशेष गरी प्राचीन नामसँग मिल्दो थिममा यहाँको सजावट गरिएको छ । केही दशकअघिसम्म प्रयोगमा रहेका तर अहिले समयले रिटायर्ड गराएका लोपोन्मुख सामग्रीहरू प्राचीन क्याफे एण्ड रेष्ट्रोको सजावटमा प्रयोग भएका छन् । प्राचीन कुराहरू ‘प्राचीन’मा सौन्दर्यका संवाहक भएका छन् ।

यसका सञ्चालक सिद्धार्थ नवीन उप्रेती हुन् । उनी भन्छन्– ‘अहिले प्राचीनलाई सजाउन राखिएका विभिन्न खालका सामग्रीहरू नै यसको पहिचान बनेका छन् । यहाँ एन्टीक तथा लोप हुदै गरेका वस्तुहरू राख्नलाई संग्रहालय नै बनाइएको छ ।’

विस्मृत हुन लागिसकेका कुराहरू देख्न पाइने प्राचीनका नवीन विशेषताहरू पनि थुप्रै छन् ।

रेष्टुरेन्टमा जाने मूल कारण भनेको नै त्यहाँ पाउने विभिन्न प्रकारका खाना खानलाई हो । त्यहाँका परिकारहरू स्वादिष्ट भएनन् भने सजावट जतिसुकै राम्रो किन नहोस् ग्राहकहरूको मन भड्किन्छ । यसै कुरालाई मध्यनजर गरेर प्राचीनले खानपानको मामिलामा आफूलाई निकै सचेत तुल्याएको छ भन्छन् यसका सञ्चालक उप्रेती ।

व्यवसाय सञ्चालनमा ल्याइसकेपछि त्यसमा आर्थिक हिसाबले सफल हुन पनि जरुरी हुन्छ, व्यापारको मूल उद्देश्य पनि त्यही नै हो । तापनि यसले व्यापारमात्र गरेको छैन, आफ्नो ठाउँबाट राज्यलाई योगदान दिइरहेको छ ।

प्राचीनमा भ्रमण वर्ष २०२० का लागि कस्तो तयारी गरिएको छ त ? उप्रेती भन्छन्– ‘यहाँ पर्यटकलाई खुसी पार्न चाहिने आधारभूत कुराहरू उपलब्ध छन् । र, भ्रमण वर्ष २०२०को लागि हामीसँग यस्ता योजना छन् ।’

थप जानकारी भिडियोमा हेर्नुहोस् :

सम्बन्धित समाचारहरु

ताजा समाचार