भागबन्डामा जुटे दल, कांग्रेसले माग्यो १० मन्त्रालय

भागबन्डामा जुटे दल, कांग्रेसले माग्यो १० मन्त्रालय


प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिएसँगै सत्ता साझेदार दलका नेताहरूले मन्त्रालय भागबन्डामा सहमतिका लागि छलफलमा जुटेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धन अनुकूल बनाउने गरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार प्रमुख चार दलका शीर्ष नेताहरूबीच संघ र प्रदेश सरकार विस्तार, पुनर्गठनका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ। आन्तरिक, दुई पक्षीय र बहुपक्षीय छलफल गरेर संघ र प्रदेश सरकार विस्तार र पुनर्गठन गर्ने नेताहरूले बताएका छन्।

कांग्रेस नेता रमेश लेखकले शीर्ष नेताहरूको बैठकमा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको जानकारी दिए। 

दलहरूबीच आन्तरिक र सामूहिक सहमति जुटाउन केही दिन लाग्ने संकेत गर्दै उनले  सबै प्रदेश सरकारहरू गठबन्धनअनुकूल बनाउँदै जाने बताए ।  प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले १०, नेकपा एस र जसपाले ३/३ मन्त्रालय दाबी गरेको स्रोतको दाबी छ।

नेकपा एसले गृहसहित तीन मन्त्रालय दाबी गरेको छ। तर सरकारको नेतृत्वमा माओवादी केन्द्र गृह मन्त्रालय अन्य दललाई दिने पक्षमा नरहेको निकट स्रोतको दाबी छ।

Logo