मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल


मिटर ब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । 

महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

सोही निर्देशन बमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्धा समेत चलाइरहेको उल्लेख गरे । 

घर फर्किन आवश्यक सहयोग गर्ने समेत उनले प्रतिवद्धता व्यक्त  गरेका छन्। प्रजिअ  पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानून नबन्दासम्म नफर्कने बताए ।

किसानले सो अवसरमा काठमाडौँसम्मको यात्राका लागि आफूहरुलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रवन्ध मिलाउन आग्रह गरेका थिए । प्रजिअ पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेको छ । 

पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले बताए। सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ । 

Logo