दलितको नाममा आरक्षण दिँदासम्म उनीहरुमाथिको उत्पीडन समाप्त हुँदैन -वामदेव गौतम

दलितको नाममा आरक्षण दिँदासम्म उनीहरुमाथिको उत्पीडन समाप्त हुँदैन -वामदेव गौतम


राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन् । 

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताएका हुन् । उनले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताए । 

‘नेपालमा उत्पीडन समाप्त गर्न लागेको छ, तर आजसम्म पनि छैन । यो के भो यस्तो किसिमको भन्दा आरक्षण व्यवस्था रहँदासम्म समाप्त हुँदैन ।’ उनले भने, ‘आफुले आफैँलाई उत्पीडित भनेर जनप्रतिनिधित्व हुन्छ । कसरी प्रतिनिधित्व गर्नुभयो तपाईं भन्यो भने म दलित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदाय चाहीँ दलित भइरहनु प-यो । तब न प्रतिनिधित्व हुन्छ । त्यसबाट मुक्त हुने व्यवस्था यसले गर्दैन । गर्दैगर्दैन । इतिहास साक्षि छ, उत्पीडन समाप्त गर्ने, दलित अवस्था समाप्त गर्ने भनेर चन्द्र समशेरको पालादेखि शुरु भएको अझै उत्पीडन व्यापक छ ।’  

उनले दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने बताए । कसैले कसैलाई दलित र उत्पीडित भन्नु नहुने भन्दै उनले सबै मानिस एकै भएको बताए । दलित र उत्पीडित जस्ता शब्द नै खारेज गर्नुपर्ने उनको भनाई छ । 

राष्ट्रिय सभा सदस्य गौतमले छुवाछुत गर्नेलाई आजिवन कारावास र भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानून बनाउनुपर्ने बताए । उमेरको आधारमा पनि कसैलाई विभेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभेदहरुको अन्त्य गर्नुपर्ने उनले बताए । 

Logo