#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20645578748581634983613547161
नेपाल2443291761316728

उत्साहहीन उपनिर्वाचनको राजनीतिक सङ्केत

मिनी जनमत संग्रहको रूपमा प्रचारित उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन र स्थानीय तहका ४८ पदको निर्वाचनको लागि भएको उपनिर्वाचनको परिणामले उल्लेखनीय सकारात्मक राजनीतिक सन्देश दिन सकेन । गत निर्वाचनमा ३ स्थान मात्र प्राप्त गरेको नेपाली कांग्रेसले १३ स्थान प्राप्त गरेको छ भने सत्तारुढ नेकपाले गत निर्वाचनमा ४१ स्थान प्राप्त गरेकामा अहिले ३० स्थान मात्र प्राप्त गरेको छ ।

सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएकामा नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेकाे छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाकाे मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जीत हात पारेकाे छ ।

अन्य दलहरूको पक्षमा चुनावी परिणाम दयनीय रहेको छ । कांग्रेसले केही मात्रामा गत निर्वाचनको भन्दा बढी जनमत ल्याउन सफल भए पनि सन्तोष मान्नु पर्ने अवस्था छैन । नेकपाले प्राप्त गरेको सिट संख्याभन्दा मतको अनुपातलाई विश्लेषण गर्दा यो पार्टीले पनि त्यति धेरै नोक्सान व्यहोरेको देखिदैन । निर्वाचन परिणाम कुनै पार्टीको पक्षमा पनि उल्लेखनीय छैन । तर यो निर्वाचनले केही राजनीतिक सन्देश र सङ्केत गरेको छ ।

विगतका आम निर्वाचनमा जुन प्रकारको उत्साहप्रद जनसहभागिता थियो त्यस्तो यो निर्वाचनमा देखिएन । गत आम निर्वाचनमा उत्साहप्रद रूपमा जति प्रतिशत मत खसेको थियो, यो उप निर्वाचनमा त्यति उत्साहप्रद मत नखसेबाट निर्वाचनप्रति जनताको उत्साह घटेको कुरा यो उपनिर्वाचनले सङ्केत गर्दछ ।

जब पार्टी, यसका नेता र कार्यकर्ताप्रति जन असन्तुष्टि बढ्दै जान्छ त्यति बेला निर्वाचनको प्रक्रियामा जन–सहभागिता घट्दै जान्छ । बहुदलीय व्यवस्थाको मूल आधार नै जनताको राष्ट्रिय राजनीतिमा हुने सहभागिता हो । राष्ट्रिय राजनीतिमा चासो र सरोकार अभिवृद्धि गराउने दायित्व पार्टी, नेता र कार्यकर्ताको नै हो ।

बहुदलीय व्यवस्थामा कुनै न कुनै पार्टीले जनतामा आशा र विश्वास जगाइराख्नु आवश्यक हुन्छ । यो व्यवस्थामा सत्ता पक्ष र विपक्षी पार्टीको भूमिका अनिवार्य रूपमा प्रभावकारी हुनु पर्ने भनिएको कारण पनि यही नै हो । यसैले निर्वाचनमा उत्साहपूर्ण जन सहभागिता घट्दै जानु बहुदलीय व्यवस्था ओरालो लाग्दै गएको स्थितिको सङ्केत हो ।

उपनिर्वाचनको परिणामले राजनीतिक यथास्थितिलाई उजागर गरेको छ । सत्तापक्ष नेकपा र प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसको मात्र होइन, अन्य पार्टीहरूको चुनावी स्थितिमा खास फरक नआएको अवस्थाले पनि यही संकेत गर्दछ । गणतन्त्र स्थापनापछिको पहिलो आमनिर्वाचनपछि गठित ओली सरकार चौतर्फी रूपमा असफल हुँदै आएको छ । यो सरकारले केही गर्ला भन्ने विश्वास पनि जनतामा छैन । यो स्थितिको लाभ प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसमा जानुपर्ने हो । तर, उपनिर्वाचनको परिणामले नेपाली कांग्रेसले लाभ प्राप्त गर्न सकेको देखिदैन । यसको अर्थ र सङ्केत हो, कांग्रेसको छबि सुध्रिएको अवस्थामा छैन भन्ने नै हो ।

सत्तासीन पार्टी नेकपा र प्रमुख विपक्षी नेपाली कांग्रेसप्रतिको आकर्षणमा ह्रास आउँदा अन्य पार्टीहरूले उप–निर्वाचनमा जनसमर्थन प्राप्त गर्नु पर्ने हो । तर आम निर्वाचनको चुनावी परिणामभन्दा पनि यो उपनिर्वाचनमा उनीहरूको स्थिति खस्किएको छ । रा.प्र.पा, मधेश केन्द्रित दलहरू र आफूलाई वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गर्ने जमर्को गर्दै आएको बाबुराम–उपेन्द्रको संघीय समाजवादी पार्टीले उप–निर्वाचनमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकेनन् । यसले जनता नेकपा र नेपाली कांग्रेस बाहेकका पार्टीहरूलाई विश्वास गरिहाल्ने मनस्थितिमा नरहेको स्पष्ट सङ्केत गर्दछ ।

सत्तासीन पार्टी नेकपा केही गर्न नसक्ने, त्यसको विकल्पको भूमिका प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसले निर्वाह गर्न नसक्ने र जनताले अन्य दलहरूलाई विश्वास नगर्ने आदि जटिलताले राष्ट्रिय राजनीतिलाई पोखरीमा जमेको पानीजस्तो बनाइदिएको छ ।

राष्ट्रिय राजनीति निरन्तर चलायमान एवंं यसको दिशा र गति अग्रगमन उन्मुख हुनु आवश्यक हुन्छ । राष्ट्रिय राजनीति चलायमान नहुँदा यथास्थितिको भासमा जाकिन पुग्दछ भने दिशाहीन राजनीति दुर्घटना उन्मुख हुन्छ । नयाँ संविधान कार्यन्वयनको क्रममा केही अघि बढेको राष्ट्रिय राजनीति केही समययता गतिहीन देखिन थालेको छ । यस्तो गतिहीनताको अवस्थाले आम जनतामा नैराश्य सृजना हुन्छ र आम जनता व्यवस्था बचाउन जागरुक र अग्रसर हुँदैनन् । यो व्यवस्थाकै विरुद्ध उठ्न थालेका हर्कतहरूलाई आम जनताले प्रतिरोध गर्न छाडेको राजनीतिक घटनाक्रम, उपनिर्वाचनको तस्वीरले यही कुराको सङ्केत गर्दछ ।

उपनिर्वाचनको परिणामले जनमत सत्तासीन नेकपा र प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसकै वरिपरि घुमेको देखाउँछ । यसबाट यिनै पार्टीहरूलाई सुदृढीकरण गरेर अघि बढ्नु बाहेक अर्को विकल्प नरहेकोे सहज रूपमा बुझिन्छ । यी दुवै पार्टीको आन्तरिक जीवन भने कुहिएको फर्सीको जस्तो छ । बाहिरबाट हेर्दा त्यति बिग्रिसकेको जस्तो नदेखिने भित्र उधिनेर हेर्दा निकै सडेगलेको अवस्था छ । दुवै पार्टीको आधारभूत स्थितिमा तात्विक भिन्नता छैन ।

गुटगत राजनीतिबाट ग्रसित यी दुई पार्टीहरूको स्थिति संगठित पार्टीको रूपमा नभएर स्वार्थी गुटहरूको द्वन्द्व गर्ने अखडाजस्तो छ । ओली गुट, माधव नेपाल गुट, प्रचण्ड गुट आदि प्रमुख र अन्य साना साना गुटहरूको भारीले सत्तासीन पार्टी थिचिएको अवस्थामा छ । त्यस्तै प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेस देउवा गुट र कोइराला गुटमा नराम्ररी विभाजित छ । यी पार्टीहरूले बिग्रँदो राष्ट्रिय परिस्थितिलाई सम्हाल्न सक्ने अवस्था छैन ।

राष्ट्रिय राजनीति यो स्थितिबाट गुज्रिरहेको छ भने यस्तो कमजोर स्थितिबाट अनुचित लाभ लिन बाह्य शक्तिहरू अत्यधिक चलखेल गरिरहेका छन् । जसको कारण मुलुक बाह्य शक्तिको द्वन्द्वको अखडा बन्दै गएको छ । एकातिर राष्ट्रिय शक्तिहरू बीचको एकता कमजोर हुँदै जानु, अर्कोतिर बाह्य शक्तिको चलखेल बढ्दै जाँदा राष्ट्रिय राजनीति अस्थिरताको दलदलमा धकेलिँदै गएको छ ।

आगामी दिनमा यो क्रम अझ बढ्ने सम्भावना छ । यो स्थितिलाई केही विश्लेषकहरूले दुई दलीय (नेकपा र नेपाली कांग्रेस) बाटोतर्फ नेपाली राजनीति उन्मुख हुन थालेको भन्ने गरेका छन् । यी दुई दललाई बाध्यतावश जनताले समर्थन गरेका छन्, तर विश्वास गरेका छैनन् । यस्तो सङ्केत उपनिर्वाचनले दिएको छ । यो स्थितिले पार्टीहरू मात्र होइन, व्यवस्था नै संकटग्रस्त र दुर्घटनाग्रस्त हुने त होइन ? प्रश्न खडा भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार