म चुनावदेखि डराउँदिन, अहिलेसम्म जति चुनाव लडे सबैमा जितेको छुः अञ्जन श्रेष्ठ

म चुनावदेखि डराउँदिन, अहिलेसम्म जति चुनाव लडे सबैमा जितेको छुः अञ्जन श्रेष्ठ


निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उद्योगी व्यवसायीहरु यतिखेर चुनावी महाभिडन्तमा छन् । आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष सहितका विभिन्न पदका निम्ती विभिन्न प्यानल बनाएर चुनावी मैदानमा छन् । औपचारिक रुपमै उम्मेद्वारी घोषणा गर्ने देखि जिल्ला दौडाहा र प्रतिनिधीहरुसम्म भोट माग्नेसम्मका गतिविधी चलिरहेका छन् । 

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्षका आकांक्षीहरुको संख्या पनि धेरै देखिन्छ । अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र दिनेश श्रेष्ठ वरिष्ठ उपाध्यक्षको उम्मेद्वारका रुपमा सुनिएका नाम हुन् । जसमध्ये ३ जना बहालवाला उपाध्यक्ष हुन् भनें उमेशलाल श्रेष्ठ पुर्व उपाध्यक्ष हुन् । दिनेश श्रेष्ठको उम्मेद्वारी नहुने चर्चा छ, दिनेशले कुनै एउटा समुहलाई समर्थन गर्ने चर्चा बढि छ । 

यही चैत २८ र २९ गते हुन लागेको महासंघको निर्वाचनमा अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी दिएका छन् । श्रेष्ठले लक्ष्मी ग्रुपको नेतृत्व सम्हालिरहेका छन् । लक्ष्मी ग्रुप नेपालको ठुला व्यवसायिक गृहका रुपमा स्थापित छ । लक्ष्मी ग्रुपमा अहिलेसम्म २० वटा कम्पनी समावेश छन् भने १७ सयभन्दा धेरैलाई रोजगारीको अवसर दिएको छ । 

लक्ष्मी ग्रुपको नेतृत्व सम्हालिरहेका श्रेष्ठको चुनावी योजना कस्तो छ ? के कस्ता एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा छन् त ? यस्तै विषयमा केन्द्रित रहेर केन्द्रविन्दुले अञ्जन श्रेष्ठसँग कुराकानी गरेको छ । प्रस्तुत छ, श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः 

उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै छ, तयारी कस्तो छ ?

–विगत ६ महिनादेखि चुनावी तयारीमा जुटेको छु । व्यक्तिगत र क्षेत्रगत समूह बनाएर जिल्ला नगर र वस्तुगत संघका साथीहरुसँग नियमित छलफलमा छु । जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरुसँग भेट भइरहेको छ । अहिलेसम्म ६५ जिल्ला भ्रमण गरिसकेको छौँ । भेट्ने क्रममा घर दैलो कार्यक्रम गरी ढोकामै ढक्ढक्याएको छु । जिल्ला नगर, वस्तुगत, एसोसिएटका भोटर साथीहरुलाई पनि भेटेर मत माग्ने र फोन गर्ने कार्य भइरहेको छ । 

एफएनसीसीआईमा विगत लामो समय देखि काम गरेको, आर्थिक क्षेत्रमा नितिगत समस्याबारे जानकार रहेको र विभिन्न उद्योग, व्यवसाय र विधामा काम गरेर नेतृत्व क्षमता देखाइ सकेको आधारमा अब मैले नेतृत्वका लागि अघि बढ्ने समय आएको ठानेको छु । 

बरिष्ठ उपाध्यक्षको तपाईको उम्मेदवारी के का लागि ? तपाईले विगतमा उद्योगी व्यवसायीका निम्ती गरेको योगदान के हो ?

–मैले यस क्षेत्रमा विगत २० वर्षदेखि काम गर्दै आएको छु । शुरुवातमा २० वर्ष अघि उद्योग समितिको सदस्यको रुपमा प्रवेश गरे, त्यसपछि वाणिज्य समितिको सदस्य, राजस्व समितिको सदस्य, रोजगार दाता परिषद्को सदस्य भए । कार्यसमितिमा आएकै १५ वर्ष भयो । यो यात्रामा ४ कार्यकाल राजस्व समितिको सह–सभापति भए । पछिल्लो कार्यकाल उद्योग समितिको  सभापति थिए । अहिले चलिरहेको कार्यकालमा बस्तुगत क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपाध्यक्षको रुपमा छु । यसक्रममा मैले निभाएको भुमिका उद्योगी व्यवसायी सबै साथीहरुलाई थाहा छ । पछिल्लो समयमा वस्तुगत संघका साथीहरुलाई एफएनसिसिआईसँगको सम्बन्धमा अपनत्व दिलाउन सफल भएको छु । महासंघले पनि वस्तुगतसंघहरुसँगको सम्बन्ध नजिकको बनाएर सहकार्य गर्न थालेको छ । 

अर्को महत्वपुर्ण कुरा मसँग ३० वर्षको सफल व्यवसायिक अनुभव पनि छ । अभिभावकले ३ सय रुपैयाँबाट सुरु गरेको व्यापारलाई आज आफैँले नेतृत्व लिएर अगाडि बढाइरहेको छु । अहिले सुजल फुड सबैभन्दा ठूलो उत्पादन कम्पनी बन्न सफल भएको छ । यस सुजलले विदेशी  कन्फेक्शनरी आयातलाई विस्थापित गर्न मद्दत गरेको छ । डेरी, प्याकेजिङ, अटो मोबाइल पूर्वाधार, स्टिल म्यानुफ्याक्चरिङ, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लक्ष्मी ग्रुपले सफल र उदाहरणिय कार्य गरेको छ । म हरेक उद्योग व्यवसाय र व्यवसायीका अहिलेका समस्याबारे आफैं अनुभवी छु । एफएनसीसीआईमा विगत लामो समय देखि काम गरेको, आर्थिक क्षेत्रमा नितिगत समस्याबारे जानकार रहेको र विभिन्न उद्योग, व्यवसाय र विधामा काम गरेर नेतृत्व क्षमता देखाइ सकेको आधारमा अब मैले नेतृत्वका लागि अघि बढ्ने समय आएको ठानेको छु । 

सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउने र व्यवसायीको लगानीको सुरक्षण गर्ने नै मेरो मुल एजेन्डा हो ।

निर्वाचनका लागि फ्लोरमा जाँदा तपाईको मुल एजेन्डा के रहनेछ त ?

–सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउने र व्यवसायीको लगानीको सुरक्षण गर्ने नै मेरो मुल एजेन्डा हो । अहिलेको अवस्था चुनौतीपूर्ण छ साथै यो स्मार्ट डिजिटलको युग  पनि हो । विकसित नयाँ प्रविधिसँगै समयअनुरुप निती परिवर्तन हुनुपर्छ, अनि हाम्रो कार्यशैली पनि । नेपालमा २०४८ सालमा खुल्ला बजार अर्थतन्त्र आयो । त्यसपछि प्रत्येक दश वर्षमा आर्थिक रुपान्तरण हुनुपर्ने हो तर त्यो भइरहेको छैन् । अब फाइनान्सीयल रिफर्मको काम गर्ने योजना बनाएको छु । अहिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएको समस्या फाइनान्सीयल रिफर्म नभएर हो । त्यसका लागि मसँग जोश र जाँगर भएका युवा सशक्त टिम छ । उनीहरुसँग सहकार्यमा काम गरेको अनुभव छ मसँग । निरन्तरको राजनैतिक द्धन्द्धले गर्दा आर्थिक एजेन्डामा देश फोकस हुन सकिरहेको छैन् । एफएनसिसिआईमा आउने ६ वर्षमा मैले के काम गर्नुपर्छ त्यसको सबै योजना बनाइसकेको छु । 

निर्वाचनमा तपाईले जित्ने आधार के हो ? तपाईका प्रतिस्पर्धीहरु आफु सिनियर भएकाले सबल नेतृत्वका लागि आफुलाई जिताउनुपर्ने बताइरहनु भएको छ ।

–म गत वर्ष वस्तुगत संघहरुको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा अत्यधिक मतले विजयी भएको थिए । वस्तुगत संघ तर्फको उपाध्यक्षमा मैले जसलाई पराजित गरेको थिए, उहाँ अहिले मेरो एक प्रतिस्पर्धी हो । त्यसकारण उहाँको उम्मेद्वारीलाई मैले महत्व दिन आवश्यक ठानेको छैन्, मेरो विगतको काम नै मेरो जित्ने आधार हो । मैले वस्तुगतसंघ अन्तर्गतका साथीहरुलाई एफएनसिसिआईको सदस्यता मात्र सिमित हुने होइन् भनेर उहाँहरुलाई महासंघका हरेक कार्यक्रममा सरिक गराएर अपनत्व दिलाउन सफल भएको छु । महासंघका निर्वाचित साथीहरुलाई सबै वस्तुगत संघमा पुर्याएर त्यहाँका समस्याबारे जानकार गराएको छु । स्वागत सम्मान गराएर बलियो सम्बन्ध स्थापित गरिदिएको छु । जसले गर्दा उद्योगी व्यवसायीहरुले एकले अर्कालाई चिन्ने मौका पाएका छन्  । 

सिमित रुपमा रहेको उद्योग वाणिज्य महासंघका क्रियाकलाप अहिले सबै वस्तुगत संगठनसँग जोडिएका छन् । अन्य प्रतिस्पर्धीको बारेमा पनि महासंघका सबै सदस्य साथीहरु जानकार हुनुहुन्छ । नेतृत्वका लागि दावी पेश गरिरहेका साथीहरुमध्ये को उपयुक्त पात्र हो, भन्ने कुरा सबै सदस्य साथीहरुले मुल्याकंन गर्न सक्षम हुनुहुन्छ । जहाँसम्म सिनियरको कुरा हो, महासंघको आवद्धताको हिसाबले पनि अहिलेका प्रतिस्पर्धीहरुमध्ये म नै सिनियर हो । साथै उद्योग व्यवसायमा ३ दशकको उपस्थितीले पनि हाम्रो ग्रुप सिनियर नै छ । उमेरका कारण आलोपालो गर्ने भन्ने कुराको म विरुद्धमा छु । अब मेरो काम गर्ने उमेर नै छैन् भनेर अहिले नै जिवनको उत्तराद्र्धको दिनगन्ती गर्नेले एफएनसिसिआईको नेतृत्व कस्तो गर्ला त ?

वरिष्ठ उपाध्यक्षका २ जना उम्मेदवार एउटै कित्तामा उभिने कुरा आएको छ, ४ जना उम्मेदवारमध्ये ३ जना मात्र मैदानमा रहँदा तपाईलाई जित्न गाह्रो हुन्छ भनिएको छ नि ? 

–चुनावमा २ जना भएपनि ३ जना भएपनि प्रतिस्पर्धा नै गर्ने हो । चुनाव आफ्नो एजेन्डा र कार्यक्षमताले जित्ने हो । मेरो सामथ्र्य र मेरो नेतृत्व क्षमता के छ ? सबैलाई थाहा छ । त्यसैले गर्दा चुनावी मैदानमा मैले जित्ने निश्चित छ । मैले आजसम्म कुनै पनि निर्वाचन हारेको छैन र यो पटक पनि हार्दिन् । चुनाव देखि डराउने मान्छे नै होइन् म । सर्वसम्मत हुनु आफैंमा राम्रो कुरा हो । तर सर्वसम्मत भएन भनें स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढ्न म तयार छु । फोहरी खेल खेल्न जरुरी छैन् । लोकतन्त्रमा सर्वसम्मतीको कुरा गर्दै चुनाव देखि डराएर मिलेर एउटा अयोग्य मान्छेलाई नेतृत्व दिनुपर्छ भन्ने मान्यताको म विरोधी हो । साथीहरुले अन्जन श्रेष्ठ योग्य छ भनेर निर्वाचित गर्नुभयो भनें राम्रो काम गर्नको लागि म नेतृत्वमा आउने हो । यो क्षेत्रमा २० वर्षको मेरो अनुभवले पनि अब नेतृत्वका निम्ती म तयार भइसकेको छु ।  

अटो मोबाइल एसोसिएसन नाडाको अध्यक्ष हुँदा पनि मेरो कार्यक्षमता प्रष्ट भैसकेको छ । त्यो समयमा अटो मोबाइल क्षेत्र आफैंमा धेरै चुनौतीपूर्ण अवस्था झेलिरहेको थियो जसलाई निकास दिन म सफल भएको थिएँ ।

अटो मोबाइल एसोसिएसन नाडाको अध्यक्ष हुँदा पनि मेरो कार्यक्षमता प्रष्ट भैसकेको छ । त्यो समयमा अटो मोबाइल क्षेत्र आफैंमा धेरै चुनौतीपूर्ण अवस्था झेलिरहेको थियो जसलाई निकास दिन म सफल भएको थिएँ । अहिले पनि कुनै समय एफएनसिसिआइको नेतृत्व गरेको व्यक्तिको समर्थन र सिन्डिकेटको आधारमा यो महासंघमा ति व्यक्तिहरुको अनावश्यक हस्तक्षेप हुन्छ भनें त्यसका लागि म सहित सबै साथीहरु विद्रोहका निम्ती तयार रहनुपर्छ । ति व्यक्तिको सिन्डिकेट अब महासंघमा चल्दैन् । त्यो ग्रुपलाई अब सबैले चिनिसकेका छन् । 

भावी अध्यक्ष हजुरको विपक्षमा हुनुहुन्छ भन्ने सुनिएको छ । यसलाई कसरी लिनुहुन्छ ? 

–भावी अध्यक्ष अहिलेको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँले एफएनसीसीआईको कार्यसमितिको बैंठकमा भन्नुभएको छ कि– ‘म स्वतन्त्र हुन्छु, कसैको पक्षमा भोट माग्ने वा संकेत गर्ने कार्य गर्दिन ।’ मैले उहाँलाई धेरै पहिलादेखि चिनेको छु । बोलीको कुरा पुरा गर्ने  व्यक्ति हुनुहुन्छ । त्यसैले उहाँले यस्तो नगर्नेमा म विश्वस्त छु । जहाँसम्म केहि पत्रपत्रिकामा मैले पनि पढें, उहाँले अर्को प्रतिस्पर्धीको पक्षमा समर्थनमा रहेको भनेर । आधिकारिक रुपमा वैठकमै उहाँले निर्वाचनको विषयमा कसैको पक्षमा लाग्दिन भनेर दोहोर्याएर भनिसक्नुभएकोले गर्दा त्यसमा अविश्वास गर्नुपर्ने कुनै कारण देख्दिन म । वरिष्ठ उपाध्यक्ष उम्मेद्वारी दिने भनेको एउटा प्यानलले तपाईलाई भोट माग्न चन्द्र ढकालको फोन आउँछ भनेर प्रचार गरेको कुरा पनि आएको छ । उहाँलाई गलत हिसाबले प्रयोग गर्न खोजेको हामीले महशुष गरेका छौं ।

पार्टीले टिकट दिलाएर निर्वाचनमा होमिएको व्यवसायीबाट निजिक्षेत्रको सबैभन्दा ठुलो प्रतिनिधिमुलक छाता संगठनको नेतृत्व हुनु आफैंमा विवादास्पद विषय हो । 

पार्टीगत उम्मेदवार पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा खडा हुने भन्ने सुनिएको छ नि ?

–मैले आधिकारिक रुपमा यस्तो सुनेको छैन । एफएनसीसीआई एक विशुद्ध उद्योगी व्यवसायीहरुको छाता संगठन हो । यसको विधानमै महासंघमा आवद्ध हुने सदस्यहरु राजनैतिक संगठनको सदस्य वा दलमा कार्यरत व्यक्ति हुन नपाउने भनेर प्रष्टसँग उल्लेख छ । यदि राजनैतिक दलको सक्रियता हुन लागेकै हो भनें, त्यसको सबैले विरोध गर्नुपर्छ । सम्बन्धित दलले पनि यसबारेमा गम्भिर ढंगले सोच्नुपर्दछ । महासंघको निर्वाचनमा राजनैतिक दलको कुनै पनि प्रकारको हस्तक्षेप त्यो दललाई पनि फाइदाजनक हुन्न । पार्टीले टिकट दिलाएर निर्वाचनमा होमिएको व्यवसायीबाट निजिक्षेत्रको सबैभन्दा ठुलो प्रतिनिधिमुलक छाता संगठनको नेतृत्व हुनु आफैंमा विवादास्पद विषय हो । 

तपाई पनि स्थापित व्यावसायी हुनुहुन्छ । उद्योगी व्यवसायी समस्यामा हुँदा महासंघको भूमिका भएन भन्ने व्यापक जनगुनासो छ । व्यवसायीको समस्या किन समाधान हुन सकेन होला ?

–महासंघले समस्या समाधान गरेन भन्नु गलत हो । महासंघले जहिले पनि जिम्मेवार भएर नीतिगत रुपमा काम गर्नुपर्ने हुन्छ । यो संघ सरकारको सल्लाहकार बडि पनि हो । कोभिड–१९ को समयमा महासंघको सिफारिसमा २ प्रतिशत ब्याज घटाउन हामी सफल भएका थियौं । अहिले पनि महासंघले चर्को व्याजदर घटाउँन पहल गरिरहेको छ । महासंघकै पहलमा ब्याज र सावा तिर्न नेपाल राष्ट्र बैंकले पुस महिनादेखि छुट दिएको छ । साना मझौला व्यवसायीलाई पनि राष्ट्र बैंकले १ महिनाको  सहुलियत दिएको छ । यस्तै महासंघकै पहलमा बैंकले बढी लिएको प्रिमियम फिर्ता गरेको छ । त्यसैले आफ्ना व्यवसायीहरुको समस्या समाधान नगर्ने भन्ने हुँदैन । महासंघ व्यवसायीहरुका हरेक आन्दोलन र समस्यामा साथै उभिएको छ । मैले पनि सबैप्रकारका एजेन्डामा साथ दिएको छु ।

बैंकिङ समस्या र विराटनगरमा १२ घण्टा लोडसेडिङ लगायतका विभिन्न आन्दोलनहरु चर्किरहेका छन् । हामीलाई संरक्षण गर्ने महासंघले हाम्रो समस्या सुनेन भन्ने कुरा आइरहेको छ । किन यस्तो ?

–महासंघले सबै समस्या समाधान गर्न पहल गरिरहेको छ । अहिले पनि व्याजदर एकल अंकमा तोक्नुपर्ने भन्दै आइरहेका छौँ । त्यसमा पनि उद्योगीलाई २ प्रतिशत कम हुनुपर्छ भन्ने पहल गरेका छौँ । हामीले स्पष्ट नीतिगत रुपमा कुरा राखेको छौँ । मौद्रिक नीतिका विभिन्न आधार छन् । हिजोका दिनमा पनि मौद्रिक नीतिकै आधारमा ब्याजदर बढाएको हो । भन्न त विश्व बजार हेर्दा ब्याजदर बजारको आधारमा निर्धारण हुन्छ भनिन्छ तर नेपालमा त्यस्तो हुँदैन । गत वर्ष अर्थतन्त्रमा समस्या आयोे, बाहिरी क्षेत्रको समस्या विकराल हुँदै गयो भनेर मौद्रिक नीतिको औजारले ब्याजदर बढाइएको थियो । तर, अहिले स्थिति सहज भएको बेलामा ब्याजदर घटाइदिनु पर्छ भन्ने हाम्रो माग हो । बैंकले माघबाट बचतमा १ प्रतिशत मात्र ब्याजदर घटायो र चैतदेखि प्रिमियममा पनि घटायो । एकैपटक घटाउन पनि त सक्छ नि ? हाम्रो भनाई भनेको प्रिमियम धेरै भयो भन्ने हो । ६ प्रतिशतसम्म प्रिमियम लिदा गलत भएन र ? यो कुरा हामीले उठाइरहेका छौँ । 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षले अध्यक्षको अनुपस्थितिमा मात्र कार्य गर्ने हो । तर, भावि अध्यक्षसँग सहकार्य गरेर धेरै काम गर्न सकिन्छ भन्ने मेरो आत्मविश्वास छ  ।

निर्वाचनमा जितेपछि यो मुलुकको समृद्धिका निम्ती तपाई र महासंघको भुमिका कस्तो हुन्छ त ? अहिले गनैपर्ने कामको प्राथमिकतामा के कुरालाई सबैभन्दा अगाडी राख्नुहुन्छ ?

–महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षले अध्यक्षको अनुपस्थितिमा मात्र कार्य गर्ने हो । तर, भावि अध्यक्षसँग सहकार्य गरेर धेरै काम गर्न सकिन्छ भन्ने मेरो आत्मविश्वास छ  । मैले उपाध्यक्षको रुपमा काम गर्दै गर्दा वस्तुगत संघको समस्या आफैँ बसेर सरकारी निकायसँग सहकार्य गरेर समाधान गरेको छु । तर, अहिले जिल्ला उद्योग वाणिज्य संघमा धेरै समस्या छन् । अर्थतन्त्र पनि समस्याग्रस्त भएको छ । सबै समस्यालाई सम्बोधन गर्न हामीले भिजन डकुमेन्ट बनाएका छौँ । त्यसमा राज्यले फाइनान्सियल रिफर्म गर्नुपर्ने कुरा समावेश गरिएको छ । यो डकुमेन्ट अनुसार अर्थतन्त्र सबल बनाउन सरकारले रिफर्म पोलिसी ल्याउनैपर्छ । १० वर्षमा १०० विलियनको इकोनोमी, २२ लाखलाई रोजगारी, आयात प्रतिष्थापन ५० प्रतिशतमा झार्ने लगायतका कुरा उल्लेख छन् । अव चुनावपछि राजनीतिक दलसँग छलफल गरेर त्यसलाई एजेन्डाको रुपमा अगाडि बढाउने मेरो योजना छ । भिजन डकुमेन्ट मुलुकको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय हो ।

महासंघको निर्वाचनमा प्यानलसहित उम्मेदवारी दिने ट्रेन्ड देखिन्छ, व्यवसायिक संस्थामा प्यानल बनाएर चुनावी मैदानमा उत्रिनु कत्तिको जायज हो ? 

–लोकतन्त्रमा सबै प्रकारको निर्वाचनमा टिम बन्नु स्वभाविक हो । टिम बनाएर निर्वाचनमा जाने प्रजातान्त्रिक अभ्यास पनि गर्न पर्छ । नेपालभर १ सय ८ वटा उद्योग वाणिज्य संघ, १ सय २३ बस्तुगत संघ र १ हजार ७ सय ६२ एसोसिएट सदस्यहरु छन् । विभिन्न प्यानल बनाएर निर्वाचनमा गएपनि उद्योगी व्यवसायी मतदाताहरुले रुचाएको, विश्वास गरेको र भोलिको दिनमा समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई नै मत दिनुहुन्छ । त्यसैले राम्रा र योग्य साथीहरुलाई समेटेर मैले प्यानल बनाएको छु । 

यसरी प्यानलसहित निर्वाचनमा जाँदा भविष्यमा प्रतिशोधको भावनाले एक अर्काको विरोध गर्ने कार्य हुन्छ नि, होइन ?

–अहिलेसम्मको विगत हेर्दा त्यस्तो देखिन्न । निर्वाचनका निम्ती एजेन्डामा सहमत हुनेहरुको टिम बनाउने हो, यो चुनावी प्रतिस्पर्धाका लागि मात्र सिमित रहन्छ । निर्वाचित भएर आइसकेपछि सबैले उद्योगी व्यवसायी र मुलुकको हितका निम्ती मिलेर काम गर्ने हो, यस्तै हुँदै आएको छ । चुनाव सकिएपछि त हामी सबै व्यावसायी हौँ । सबैको उद्देश्य भनेको व्यवसायीको हकहितमा नै काम गर्ने हुन्छ । 

अन्त्यमा वरिष्ठ उपाध्यक्षमा अन्य उम्मेदवार भन्दा अन्जन श्रेष्ठ योग्य हुनुहुन्छ भन्ने आधार के हो ? तपाईको उमेर छ, अन्जन अर्कोपटक बरिष्ठमा जाँदा हुन्थ्यो भन्ने आशय देखिन्छ नि ?

संस्थाको नेतृत्व गर्न आफूभन्दा उमेरमा सिनियरलाई दिनुपर्छ भन्ने छैन । जो उर्जाशील छ, समयअनुसार परिवर्तन लिन सक्ने क्षमतावान छ उसैले नेतृत्व लिनुपर्छ ।

–संस्थालाई नेतृत्व गर्न सक्ने व्यक्तिले नेतृत्व लिने हो । यसमा उमेरले फरक पार्दैन । अहिले सबै क्षेत्रमा युवा नेतृत्वहरु छन् । अहिलेको पुस्ताका उद्योगी व्यवसायीसँगको संगतले उनीहरुको जोश र जाँगर  देखेर म मा एकदम उत्साह जागेको छ । म अन्य उम्मेदवारको कुरा गर्दिन । काम र एफएनसिसिआईको संलग्नताको हिसाबमा सबै उम्मेद्वार भन्दा सिनियर छु । मेरो ३० वर्षको उद्योगी व्यवसायीको अनुभव छ ।  यस अवधिमा मैले कृषिदेखि लिएर उत्पादन, सेवा र ट्रेडिङको क्षेत्रमा उल्लेखनिय काम गरेर सफलता हासिल गरिसकेको छु । अहिले कृषि क्षेत्र मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड हो भनेर व्यवसायिक रुपमा अगाडि लैजान हाम्रो समूहले नेपालमा पाइलट प्रोजेक्टमा काम सुरु गरेको छ । 

अर्को कुरा, संस्थाको नेतृत्व गर्न आफुभन्दा उमेरमा सिनियरलाई दिनुपर्छ भन्ने छैन । जो उर्जाशील छ, समयअनुसार परिवर्तन लिन सक्ने क्षमतावान छ उसैले नेतृत्व लिनुपर्छ । अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ । अर्थतन्त्रले कस्तो मोड लिने हो भन्ने कसैलाई थाहा छैन । यो सबै समस्याको सामना गरी समाधान गर्न चुनावपछि ३ वर्ष वरिष्ठ उपाध्यक्ष र ३ वर्ष अध्यक्ष भएर काम गर्न म पूर्ण रुपमा तयारी अवस्थामा छु । ५१ वर्ष भैसक्दा पनि तेरो समय भएको छैन् भन्नु गलत हो । महासंघमा ३७ वर्षको उमेरमा नेतृत्व गर्नेहरु नै अन्जनको समय आएको छैन भनेर हिडिरहेका छन् । म सबै हिसाबले ६ वर्ष काम गर्न तयार छु । साथीहरुले मलाई जिताउनुहुन्छ भन्ने पुर्णरुपमा विश्वस्त पनि छु ।  

Skip This
Logo