के हो बीमा ? बीमा गर्दा यस्ता छन् फाइदा

के हो बीमा ? बीमा गर्दा यस्ता छन् फाइदा


काठमाडौं ।

आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी नै बीमा हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने कम्पनी) बीच सम्झौता हुन्छ । भोलि कसलाई के हुन्छ भन्ने निश्चित नै हुँदैन । आर्थिक तथा भौतिक क्षति जे पनि हुन सक्छ । त्यसैले भोलिका दिनहरुमा ती सम्भावित जोखिमबाट बच्न गरिने एक प्रकारको सुरक्षाको सम्झौता नै बीमा हो । अनिश्चित जोखिम, दुर्घटनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिमअनुसार निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना (बीमालेख) खरिद गर्न सक्छन् । बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । यसले बीमा गराउने र बीमा गर्ने दुवै पक्षलाई फाइदा पुग्छ । बीमा भनेको बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गर्ने गरिन्छ । बीमा दुई प्रकारका हुन्छन् । जीवन र निर्जीवन बीमा ।

जीवन बीमा

जीवन बीमा बचत र लगानी दुवै हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन हो । बीमा कम्पनीमा जसको बीमा गरेको हुन्छ उसले किस्ताबन्दीमा पैसा बुझाइरहन्छ । यदि बीमा गर्ने कुनै पनि व्यक्ति कुनै घटनामा परे वा कुनै क्षति भयो भने बीमा कम्पनीले त्यस्तो क्षतिपूर्ति बहन गर्छ । तर बीमा गर्ने व्यक्तिको कम्पनीले सम्झौता अनुसार तोकेको समय अवधीसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित सो रकम बीमितलाई फिर्ता गर्दछन् । जीवन बीमाका विभिन्न प्रकार हुन्छन् । आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र एन्युटि बीमा ।

निर्जीवन बीमा

निर्जीवन बीमा निश्चित अवधिको लागि गरिने सम्झौता पत्र हो । यसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको क्षति भएमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ । निर्जीवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुन गरिन्छ । यस खालको बीमामा चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा पर्छन् । निर्जीवन बीमामा अग्नि बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, सवारी बीमा र विविध बीमा ।

बीमाका फाइदाहरू
बीमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बीमितलाई कहिल्यै घाटा हुँदैन ।

सर्वोत्तम बचत

जीवन बीमालाई सर्वोत्तम बचत हो । यस प्रकारको बचत जुनसुकै समयमा झिक्न भने सकिँदैन । जतिबेला पनि रकम झिक्न नमिल्ने भएकाले यस खालको बीमालाई निकै उत्तम मानिन्छ ।
आर्थिक सुरक्षा

जीवन बीमा भनेकै आर्थिक सुरक्षा हो । बीमाले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको काम गर्छ । बीमाले बीमितको ठूलो रकमको जोखिम वहन गरेको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमांक तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई उपलब्ध गराउँछ । सो रकमबाट बीमितको परिवारले आफ्नो जीविका चलाउन सहयोग पुग्छ ।

सन्तानको शिक्षा

हरेक व्यक्तिको आफ्ना सन्तान राम्रो शिक्षा दिन चाहन्छन् । आफ्ना सन्तानको शिक्षाका लागि व्यक्तिले आफूले बीमा गर्न गर्छन् । बीमा कम्पनीहरुले बालबालिका सम्बन्धी विभिन्न बीमा योजनाहरु सार्वजनिक गरिहरहेका हुन्छन् । ती योजना हेरेर कति वर्षको कति रकमको बीमा गर्ने भन्ने निक्याैल गर्न सकिन्छ ।

कर छुट

आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ । करमा छुट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।

ऋण सुविधा

बीमा गर्दा २ वर्षको बीमा शुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेख बाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।

परनिर्भरता उन्मूलन

जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन सहयोग गर्छ । जसका कारण अरु माथि भर पर्नु वा आश्रित हुनु पर्दैन । जसका कारण मनमा आन्नद हुन्छ ।

Logo