#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32357026986140753734423833542
नेपाल693014531843750411

सीमा सुरक्षामा सरकार गम्भिर नभएकाे सत्तारुढ दलकै सांसदहरूकाे आराेप

काठमाडौं, २०७६ मंसिर २० । सत्तारुढ दलकै सांसदहरूले राष्ट्रकै गौरब र सीमा सुरक्षाको सम्बन्धमा सरकार गम्भिर नभएको आरोप लगाएका छन् । संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको शुक्रबारको बैठकमा भूमि व्यवस्था तथा सहकारी मन्त्री र परराष्ट्र मन्त्री अनुपस्थित भएपछि सांसदहरूले सरोकारवाला मन्त्रीहरू नै सीमा सुरक्षाको विषयमा गम्भिर नबनेको आरोप लगाएका हुन् ।

राष्ट्रकै गौरब र सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा छलफल गर्न बोलाउदा अनुपस्थित भएर सरकारबाट संसदीय समितिकै मर्यादा उलंघन गर्ने काम गरेको आरोप पनि समिति सदस्यहरुले लगाए । सत्तारुढ दल नेकपाका तर्फबाट भीम रावलले संवेदनशील विषयमाथिको छलफलमा मन्त्रीहरू समितिमा उपस्थित नहुनु आपत्तीजनक भएको टिप्पणी गरे ।

उनले सिमा सुरक्षा पोष्ट निर्माणका लागि आवश्यक जग्गा वन मन्त्रालयले उलपब्ध नगराएका कारण समस्या भएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाईप्रति पनि आपत्ती जनाउदै बनमन्त्री र मन्त्रालयका कर्मचारीलाई छलफलमा बोलाउन समिति सभापतिसँग आग्रह गरे। बैठकमा गृहमन्त्री थापाले दार्चुलामा सिमा सुरक्षा पोष्ट निर्माणका लागि मन्त्रालयको प्रस्तावमा वन मन्त्रालयले सहमति नदिएका कारण रोकिएको धारणा राखेका थिए ।

त्यसैगरी नेकपाका सांसद पम्फा भुसालले सिमा सुरक्षामा भन्दा राज्य सिंहदरबार भित्र ठुला ठुला सिंहदरबार बनाउने काममा क्रियाशील भएको टिप्पणी गरिन् । उनले भनिन्-‘जनता चाही पहरेदार बनेजस्तो । राज्य सिंहदरबारका वरिपरि ठूला ठूला सिंहदरबार बनाउने काममा क्रियाशील भएको छ । ‘

उनले नेपालकै अस्तित्व नै संकटमा पर्ने संकेत देखापरेको भन्दै गम्भीर बन्नुपर्नेमा जोड दिइन् -“राष्ट्रियताको प्रश्न गम्भीर छ । केही परिघटनाहरूले त्यस्तो कुरा संकेत गर्छ । विभिन्न ढंगका परिघटनाले नेपालको सीमा अतिक्रमण मात्रै होइन नेपाल राष्ट्र कै अस्तित्वको रक्षा हुने हो कि होइन भन्ने आशंका गर्न सक्ने स्थिति भएको छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट समिति सदस्य डाक्टर मिनेन्द्र रिजालले सरकारका मन्त्रीले समितिको बैठकमा अनुपस्थित भएर संसदीय समितिको मर्यादा नराखेको भन्दै अर्को बैठकमा अनिवार्य उपस्थितिका लागि सभापतिले निर्देशन दिनुपर्ने बताए।

बैठकमा समिति सदस्यहरूले मन्त्रीहरूको उपस्थितिमा मात्रै छलफल अघि बढाउनुपर्ने आवाज उठाएपछि समिति सभापति निरादेवी जैरुले सिमा सुरक्षाको सन्र्दभमा सर्वसाधरणले गुनासो गर्ने अवस्था श्रृजना नगर्ने गरि काम गर्न सरकारलाई आग्रह गर्दै सरोकारवाला सबै मन्त्रीको उपस्थितिमा छलफल गर्ने गरि बैठक स्थगित गरिन् ।

समितिले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायत विवादित बनेका नेपाली सीमा सुरक्षाका बारेमा छलफल गर्न गृह, परराष्ट्र र भूमि व्यवस्था तथा सहकारी मन्त्रीलाई छलफलमा बोलाएको थियो ।

सम्बन्धित समाचारहरु