ईट्टा खसेर भारतीय मजदुर अलिम अजिमको मृत्यु

ईट्टा खसेर भारतीय मजदुर अलिम अजिमको मृत्यु


सप्तरीको रुपनीस्थित ईट्टा उद्योगमा ईट्टा निकाल्ने क्रममा दुर्घटनामा परी घाइते भएका एक भारतीय मजदुरको मंगलबार मृत्यु भएको छ । रुपनी गाउँपालिका–२ पिपराहीस्थित जेएसआर ईट्टा भट्टा उद्योगमा कार्यरत भारतको पश्चिम वंगाल कुच बिहार ग्राम पञ्चायत अठरजनीका असगर अलीको छोरा ४५ वर्षीय अलिम अजिमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईट्टा निकाल्ने क्रममा चाङ्ग लगाएर ठड्याएको ईट्टाको पर्खाल भत्किएर उनीमाथि खस्दा शरिरको विभिन्न भागमा चोट लागेको थियो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा अजिमको मृत्यु भइसकेको अस्पतालका चिकित्सकले बताएका छन् ।

मृतककी श्रीमती २८ वर्षीया मुजिना बिबी र पश्चिम वंगाल सिहमारी ग्राम पञ्चायतका २५ वर्षीय जयारुल हकको दुबै खुटामा चोट लागेको छ । घाइतेहरुको राजविराजस्थित अस्पतालमा उपचार भइरहेको छ ।

अधिकांश ईट्टा उद्योगहरु भारतीय कामदारहरुको भरमा नै चल्ने गरेको छ । भारतीय मजदुरहरु तालिम प्राप्त हुने र सस्तोमा पाइने हुनाले परिवारसहित नै उद्योगमा बस्ने गरेका छन् । ईट्टा उद्योग सञ्चालनमा आएपछि निरन्तर चलिरहने भएकाले स्थायित्वका लागि पनि भारतीय कामदार कै भर पर्नुपर्ने बाध्यता रहेको उद्योगीहरु बताउँछन् ।

Logo