#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20104713735306641756212951845
नेपाल2331079673816493

गौंथली चराको कारुणिक अवस्था अब चित्रमा

  • लेखराम सापकोटा
    गैंडाकोट,

कलाकार भीमप्रसाद शर्माको चित्रकला मोह लोभलाग्दो छ । हिँडडुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने उनी फुर्सद निकालेर चित्र बनाउन थालि हाल्छन् । लामो समयदेखि चित्रकारितामा लागेका उनले अहिलेसम्म सयौं चित्र बनाइसकेका छन् । उनका चित्रहरूको प्रदर्शनी स्वदेश मात्रै होइन, विदेशसम्म भइसकेका छन् ।

यसैक्रममा उनको दशौं एकल चित्रकला प्रदर्शनी काठमाडौंमा हुन लागेको छ । मंसिर २२ देखि २७ गतेसम्म नेपाल आर्ट काउन्सिलमा कार्यक्रम हुँदैछ । एकल चित्रकला प्रदर्शनीमा अघिल्ला चित्रहरुमा भन्दा फरकखाले काष्ठचित्रपटमा बनाइएका चित्रलाई प्रदर्शनीमा राखिने शर्माले बताए ।

ग्रामीण क्षेत्रका बन्द झ्यालढोका र तालाचाबीलाई चित्राङ्कन गरी बन्द घर, गौंथली, प्रकृति तथा मानवबीचको सम्बन्धलाई सांकेतिक भावमा प्रस्तुत गर्दै उनले चित्र तयार गरेका छन् । विशेषगरी परिवारमा बस्ने चराहरू गौंथली, भँगेरा, परेवा लगायतको जीवनरेखालाई शर्माले क्यानभास, रङ र कुचीमा साटेका छन् ।

युवाहरु विदेश पलायन, गाउँमा बस्नेहरु शहर पलायन तथा शहरियामा कृत्रिमताप्रतिको मोह बढिरहेको परिवेशमा मानिसको आश्रयमा रहने गौंथलीलगायत चराहरुमा आएको विचलन र विस्थापनको मार्मिक अवस्थालाई आफ्ना चित्रमार्फत प्रस्तुत गरिएको शर्माले बताए । “यसपालि प्रकृति र मानव, मानव तथा चरा अनि प्रकृति र मानवीयताबीच विकसित मानवीय सम्बन्धलाई चित्रमार्फत प्रस्तुत गर्न लागेको छु”, शर्माले भने, “यसो गर्दा आफ्नै गाउँले जीवन र बाल्यकालको सुखद सम्झना आइरहेको छ ।”

शर्माले अहिलेसम्म स्वदेश तथा विदेशमा गरि ९ वटा एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । उनी चित्रकला प्रदर्शनीका लागि क्यानडा, जर्मनीलगायत मुलुक पुगिसकेका छन् । यी मध्ये प्रकृति र जीवनकै बारेमा रङ संयोजनद्वारा ७ वटा कलात्मक प्रदर्शनी गरेका छन् । मानवप्रेमको अभावमा सिर्जित गौंथलीको संवेदनालाई देखाउँदै हाम्रो मौलिक संस्कृति र जीवनशैलीमा आएको ह्रासलाई काष्ठचित्रपटमा उतार्दै उनले दसौं प्रदर्शनीको नाम सम्बन्धन राखेका हुन् ।

बाग्लुङको सर्कुवामा जन्मेका शर्मा अहिले गैंडाकोट बस्छन् । विजयचोकस्थित निवासमा कलावती आर्ट काउन्सिल छ । उनी यहीँ बसेर चित्र कोर्छन् । उनले बनाएका सयौं चित्र यहीँ छन् । यसपटक पुख्र्यौली थलो बाग्लुङ पुगेको बेला आश्रयविहीन गौंथली देख्दा आफूलाई छोएको उनले बताए । “मैले त्यहाँ परिवारको स्नेहमय सहसम्बन्धको प्रतीक्षामा रहेका गौंथलीहरु देखें”, उनले भने, “त्यो कारूणिक अवस्थाले मेरो मन छोयो र त्यसैलाई सांकेतिकरूपमा चित्रमा उतारें ।” शर्माले प्रदर्शनीमा कूल पैंतीस चित्र राख्नेछन् । जसमा गौंथलीका तीस, भँगेराका तीन र परेवाका दुई चित्र रहनेछन् । चित्र बीस हजारदेखि पचास हजार रुपैयाँसम्ममा बेचिने शर्माले बताए । कार्यक्रम कलावती आर्ट काउन्सिल र वी द आर्टिस्टको संयोजनमा हुन लागेको हो ।

सम्बन्धित समाचारहरु