एमाले अध्यक्ष ओलीले गुल्मीमा गरे सडक उद्घाटन

एमाले अध्यक्ष ओलीले गुल्मीमा गरे सडक उद्घाटन


नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५१ सालमा एमाले सरकारले सुरु गरेको आफ्नो गाउँ आफैँ बनाउँ भन्ने नारासँगै विकासको अभियान सुरु गरेको बताएका छन् । उनले तत्कालीन गाउँ विकास समितिको पालादेखि विकासको लहर सुरु भएसँगै ग्रामीण क्षेत्रमा पनि विकासको लहर आएको पनि बताए ।  

गुल्मीको छत्रकोट गाउँपालिका ४ अन्तर्गत पिपलनेटा, धरमपानी, मानकोट, दौघा, हुँदै अर्घाखाँचीको फर्सा टाकुरा जोड्ने सडक खण्डको डेढ किलोमिटर कालोपत्र सडकको मङ्गलवार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले देशभर आफूहरूको सरकार हुँदा नागरिकले आशा गर्न लायक थुप्रै विकासका कामहरू सुरु भएको दाबी गरे । एमाले देशको विकासमा नागरिकसँगै रहेको भन्दै सञ्चालित योजनालाई पूर्णता दिन आफूहरूको सहयोग रहने उनले प्रतिबद्धता जनाए । 

आज उद्घाटन गरिएको सडक प्रदेश समपूरक कोषअन्तर्गत दुई करोड तीन लाख ८० हजार रुपैयाँमा पुष्पाञ्जली शंकर जेभी तम्घासले निर्माण गरेको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । गुल्मी, पाल्पा र अर्घाखाँची जोड्ने १७ किलोमिटर सडक खण्डअन्तर्गत पहिलो चरणमा पिपलनेटा घडेरीटोला खण्ड कालोपत्र गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए ।

आउँदो असार मसान्तमा सम्पन्न गर्ने गरी गएको मङ्सिरमा सम्झौता गरिएको यस सडक कालोपत्रको काम सम्झौता सकिनुभन्दा तीन महिनाअघि नै सम्पन्न भएको निर्माण व्यवसायी सञ्जय पन्थीले बताए। छत्रकोट गाउँपालिकाका सम्झौता भएका धेरै सडकको काम निर्माण कम्पनीले अलपत्र पारेको अवस्थामा पुष्पाञ्जली शंकर जेभीले भने समयअघि नै काम सम्पन्न गरेको हो । 

२०४९ र ५० सालमा पहिलो ट्र्याक खोलिएको यस सडक छत्रकोट गाउँपालिकाभित्र रहेका आन्तरिक सडकहरूमध्ये पहिलो कालोपत्र भएको सडक हो । सडक निर्माण भएको झन्डै तीन दशकपछि कालोपत्र गर्न सुरु भएपछि स्थानीय खुसी भएका छन् ।

Logo