विवाह : बन्धन कि सहकार्यको नयाँ अवसर ?

अहिले मंसिर महिना चलिरहेको छ । यो महिनालाई नेपाली जनजीवनले विवाहको महिनाका रूपमा स्विकारेको पाइन्छ । यस वर्षको यही महिनामा पनि धेरैले लगनगाँठो कसिसकेका छन् र कतिपय तम्तयारीमा छन् ।

मंसिर महिनामै अत्यधिक विवाह किन ? पंक्तिकारको यो आलेख यस पक्षमा हैन । यद्यपि, धेरैलाई लगनगाँठोमा कसाउने यस महिनाको अवसरमा विवाह सन्दर्भमै केही लेख्ने प्रयास भने यहाँ गरिएको छ । अहिले अत्यधिक प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकका भित्ताहरू विवाह र विवाहको वर्षगाँठका अवसरका फोटाहरूले भरिभराउ देखिन्छन् । वर्षगाँठका अवसरमा फोटाहरू पोस्ट्याउने अधिकांशले आफ्नो जीवनसाथीको अत्यधिक प्रशंसा र आफूभन्दा आफ्नो जीवनसाथीलाई माथि राखेर वा आफ्नो वर्तमानको अवस्थाका लागि आफ्नो जीवनसाथीको शतप्रतिशत भूमिका रहको भन्दै कृतज्ञताका भावहरू व्यक्त गरेका हुन्छन् । यस मामिलामा तुलनात्मक रूपमा पुरुष अगाडि देखिन्छन् ।

यो देखिरहँदा पंक्तिकारलाई गत वर्ष मात्रै चिनजानका एकजना राम्रै ओहदाका व्यक्तिको सम्बन्धविच्छेदको घटनाको याद ताजा भयो । ती व्यक्तिले सम्बन्ध विच्छेद हुनुभन्दा करिब २ महिनाअघि यसरी नै आफ्नी श्रीमतीको अथाह प्रशंसा गर्दै एनिभर्सरीको फोटो पोस्ट्याएका थिए । एकाएक त्यति पे्रमिल लाग्ने सम्बन्ध कसरी खण्डहर बन्यो ? यस विषयमा उनलाई चिन्ने धेरै व्यक्तिहरू चकित बने । जब उनकी श्रीमतीबाट आफू दिनरात घरेलु हिंसाको सिकार बन्नु परेको प्रसंग सहित धेरै वर्ष सहेर बसेको तर अति भएपछि डिभोर्स मागेको कुरा सुनियो तब सबैलाई आश्चर्य लाग्यो ।

श्रीमतीका नाम सामाजिक सञ्जालमा त्यो हदसम्म प्रशंसाका शब्दहरू खर्चने श्रीमानले वास्तविक जीवनमा किन श्रीमतीको चिरिदै गरेको मनमा मल्हमपट्टी लगाउन सकेनन् ? उनले फेसबुकमा लेखे झैं उसकी श्रीमतीको भूमिका उसको जीवनमा अमूल्य थियो भने उनलाई नै सर्वस्व ठानेर आजीवन उनकै बन्ने कसम खाएर उनको घरमा भित्रिएकी श्रीमतीले फेरि किन आफ्नो प्राणप्रिय श्रीमानलाई छोड्ने निधो गर्नुपर्‍यो ? यी यावत् सवालहरूलाई केलाउँदा अहिले नेपाली समाज कता जाँदै छ त भन्ने अर्को सवाल उब्जन्छ ।

फेरि पनि पंक्तिकारको यो आलेख सम्बन्ध विच्छेद वा त्यसबाट उब्जने अन्य सामाजिक विषयसँग सम्बन्धित भने होइन । प्रसंग विवाहकै हो । २०७६ श्रावण ४ गते अन्नपूर्ण फुर्सदमा प्रकाशित “ऊ–हारी कि बुहारी” शीर्षकको लेख पढेपछि कसरी सपनाको कोपिला फुलाउँदै गरेकी एउटी छोरीले बुहारी बनेपछि फक्रने चाहनाको स्वयं हत्या गर्नुपर्छ भन्ने भावनाले मन अमिलो बनायो । के आधा आकाश ओगटेका छोरीहरूका लागि विवाह गर्नु नै आफ्नो सपनाको पंख भाँच्नु हो ?

हुन त कतिपय सफल महिलाको अन्तर्वार्तामा विवाहपछि नै आफूले सफलताको यो हैसियत तय गरिएको भन्ने खालका अभिव्यक्ति पनि सुन्न पाइन्छ । तर अधिकांश छोरीहरू जब बुहारी बन्छन् तब उनीहरू आफूले विवाहपूर्व बनाएको आधारलाई समेत भुलेर पूर्ण हाउस वाइफ बन्न पुग्छन् । यो आफैमा विवाहले निम्त्याउने तीतो यथार्थ बन्न पुग्छ । यसो भनिरहँदा एउटी छोरी कसैकी श्रीमती, बुहारी, आमा, भाउजू, बुहारी…आदि बनिसक्दा पनि विगतको छोरीकै भूमिका रहिरहनुपर्छ भन्न खोजिएको भने होइन । समय र परिस्थितिले थोपर्दै जाने भूमिका र आफैँमा प्राप्त हुने जिम्मेवारीलाई खुलेर महसुस गर्दै आफ्नो सपनाको उडान निर्धक्क भर्न पाउनुपर्छ भन्न खोजिएको हो ।

यसको अर्थ सबै बुहारी वा श्रीमती उस्तै हुनुपर्छ र गर्नुपर्छ भन्ने पनि होइन । त्यो स्वयम् व्यक्तिको व्यक्तिगत चाहना, सपना र आवश्यकताले निम्त्याउने अवसर हुनसक्छ । यद्यपि, अपवादलाई छाडेर आजका अधिकांश नेपाली छोरीहरू आफ्नो पौरखमा रमाउन चाहन्छन् । आफू उभिएको धरातल आफ्नै खुट्टाले बलियो गरी टेक्न पाऊँ भन्ने चाहना राख्छन् । यस्तो चाहनामा विवाहपछि परिणत हुने उसको भूमिकाले बाधा पुर्‍याउनु हुँदैन, श्रीमान् र उसको परिवार यसको सारथि बन्न जरुरी छ । जिम्मेवारीहरूलाई बाँडफाँट गरी सहजीकरण गर्न जरुरी छ । जुन कुरा अब विवाहको तयारीमा रहेका हरेक पुरुषले आत्मसात् गर्नु आवश्यक छ ।

अहिले नेपाली समाज धेरै परिर्वतन त भएको छ । अहिले अधिकांशले पढेलेखेकी बुहारीको खोजी गर्छन् । तर, विवाहपछि जब बुहारीको सपनाले पक्रने अवसर चाहन्छ, त्यतिबेला परिवार शतप्रतिशत सहयोग बन्न नसकेको देखिन्छ । त्यसैले अधिकांश छोरीहरूले अहिले विवाहअघि नै आत्मनिर्भर बन्नुपर्छ भन्ने मनोभाव बोकेको पाइन्छ । पछिल्लो समय विवाह उमेरका छोरीहरूलाई दशैँको आशीर्वादनै आफ्ना खुट्टामा उभिएपछि मात्रै विवाह भन्ने प्राप्त हुन थालेको छ । यसले नेपाली समाज छोरीप्रति धेरै उदार बन्दै छ भन्ने संकेत दिन्छ ।
यसो भन्दैमा विवाहअघि नै आत्मनिर्भर बनेका बुहारीहरू शतप्रतिशत खुसी नै छन् भन्न भने सकिँदैन । उनीहरूप्रति परिवार उदार बन्न सकेन भने दोहोरोतेहरो जिम्मेवारीमा पिल्सँदा उनीहरूमा अर्को खाले वितृष्णा पैदा हुनसक्छ ।

पंक्तिकारलाई भर्खरै विवाह भएकी एक महिला मित्रले आफ्नो व्यस्तताको बेलिविस्तार लगाइन् । उनी एक प्राइभेट बैंकमा जागिरे छिन् । यसै त अत्यन्तै व्यस्त हुनुपर्ने बैंकिङ क्षेत्र, त्यसमाथि बुहारीको पारिवारिक भूमिका । उनले आफ्ना श्रीमान् आफ्नो प्रगतिका लागि सदैव सारथि रहे पनि पारिवारिक जिम्मेवारीका सवालमा श्रीमान्ले बेवास्ता गर्ने गरेको बताइन् । यसबाट जिम्मेवारीको बोझमा आफू मात्रै थिचिनु पर्दा उनले आफ्नो वैवाहिक जीवनलाई भरपुर आनन्दमय महसुस गर्न सकेकी छैनन् ।

यसै साल विवाह गरेकी अर्की बहिनीले पंक्तिकारलाई सुनाइन्, “विवाह गरेपछि त बर्बादै हुँदो रैछ दिदी” उनले विवाहको यति छोटो समयमै यसो भन्नुमा विवाहपछिको बदलिएको भूमिका उनका लागि पनि बोझिलो बनेको देखियो । तर पछिल्लो समय भने विवाहपछिको जीवनका सन्दर्भमा पुरुषको पनि मत फेरिएको छ । पट्ठ्यौली शैलीमा एक नवविवाहित पुरुष मित्रले भने, “अब विवाह गरियो, सहिद भइयो” । यसको अर्थ अब विवाहपूर्वको झै पूर्ण स्वतन्त्र जीवन छैन, विभिन्न जिम्मेवारीहरू र भूमिका मेरा पनि परिर्वतन हुँदै छन् भन्नु हो ।

विवाह एक सामाजिक संस्था हो । नेपालको कानुनले २० वर्ष उमेर पुगेपछि विवाहलाई मान्यता दिएको छ । नेपाली जनजिब्रोमा ‘बिहेवारी २० पारि’ भन्ने उक्ति पनि प्रचलित छ । यद्यपि, पछिल्लो समय नेपाली समाजमा पनि पश्चिमा संस्कृतिको प्रभाव उल्लेख्य पर्न थालेको छ । वैवाहिक सम्बन्ध पनि यसबाट अछुतो रहन सकेको छैन । लिभिङ टुगेदरलाई समाजले त्यति अनौठो लिन छोडेको छ भने सम्बन्ध विच्छेद अत्यधिक हुन थालेको छ । यसका परिणतिहरू कति सकारात्मक र कति नकारात्मक भन्ने कुरा अर्को बहसको विषय होला । तर विवाहकै प्रसंगमा ढिलो विवाहलाई भने समाजले सहजै लिन थालेको छ ।

‘बिहेवारी २० पारि’लाई अब ३० पारि बनाउनु पर्छ भन्ने ठट्टाहरू युवा जमातमा चलिरहन्छ । पढाइ पूरा गर्दा र आत्मनिर्भर बन्दा यति उमेरमा गरिने विवाह ठिकै हो भन्ने निष्कर्ष अधिकांश कामकाजी छोरीहरूमा पनि आउन थालेको छ । एक जना चर्चित गायिकाले विवाहको प्रसंगमा विवाह त ३० कटेपछि मात्रै गर्नु पर्ने आफ्नो धारणा परिवारले सहजै लिएको बताइन् । यसले अब छोरीको बेला बित्ला, विवाह नहोला भन्ने भयबाट अभिभावक पनि विस्तारै मुक्त हुँदै छन्, त्यसको साटो जतिसक्दो चाँडो छोरी आत्मनिर्भर बनोस् भन्ने चाहन्छन् भन्ने देखाउँछ ।

अहिले विवाहको किसिमका सन्दर्भमा विभिन्न बहस चल्ने गरेको छ । एक जना अधिकारकर्मीले पंक्तिकारसँगको अनौपचारिक सम्वादमा सुनाइन्, “मेरी छोरी डाक्टर भई केही वर्ष काम पनि गरी, भर्खरै विवाह गरिदिएँ तर मैले कन्यादान गरिन । छोरीहरू के दान गर्ने वस्तु हुन् ? धर्मका नाममा रहेका नराम्रा पक्षहरू अब हामीले काट्दै लैजानु पर्छ ।” यसरी विवाह संस्कारमा गरिने कन्यादानको औचित्यका विषयमा पनि हाल बहस चलिरहेको छ ।

यद्यपि, हिन्दु धर्मका ज्ञाता पण्डितहरूले भने कन्यादान महादान भएको र अधिकारकर्मीहरूले भने जस्तो छोरीलाई वस्तु मानेर दान नगरिने, यसले स्त्री जातिको महानता वा ओजलाई देखाउने बताउँछन् । कन्यादानका सन्दर्भमा ‘मारे पाप पाले पुण्य’ भनेर छोरी ज्वाइँको हातमा सुम्पने रीति विरुद्धमा सामाजिक सञ्जालमा पछिल्लो समय आएको मत धेरै नै भाइरल भएको थियो । यो पंक्तिकारलाई मानव अधिकारको महायुगमा यस्तो भनाइ वा रीतिले तात्विक अर्थ राख्छ जस्तो लाग्दैन ।

वयस्क उमेरमा गरिने विवाह पुरुष तथा महिला दुवैका लागि स्वीकार्य तथा सुखी जीवनको आधार बन्नुपर्छ । आफूले चाहेको र रोजेको व्यक्तिलाई जीवनको सहयात्री बनाउन पाउनु मानिसको नैसर्गिक अधिकार हो । नारी पुरुष एकै रथका दुई पाङ्ग्रा हुन भन्ने हो भने दुवै पाङ्ग्राको गुडाइको गति समान नभई रथले यात्रा तय गर्न सक्दैन । यसर्थ, आजको युगले नारी पुरुष सहअस्तित्व र आत्मसम्मानको माग गरेको छ । जीवनमा कोहीभन्दा कोही माथि वा तल भन्ने कुराको गुञ्जायस हुन नदिएर काँधमा काँध मिलाएर सहयात्रा गर्न सकिए सार्थक जीवनको अर्थ भेटिन्छ ।

त्यसैले, सहयात्राको प्रवेश विन्दु विवाहलाई बोझ र त्रासको रुपमा कदापि लिनु हुदैन । वैवाहिक सम्बन्ध गाँस्न लागेकाहरूले यसलाई आफ्नो जीवनको सबैभन्दा ठूलो उत्सवको रूपमा खुसीसाथ अनुभव गर्न जरुरी छ । अबको युगले ‘विवाहलाई बन्धन नभएर सहकार्यको नयाँ अवसर’का रूपमा लिनु पर्ने माग गर्दछ ।

विवाह : बन्धन कि सहकार्यको नयाँ अवसर ?