‘सरकारको सय दिनमा कानून निर्माण र सेवा प्रवाहमा महत्वपूर्ण उपलब्धि’ -मन्त्री शर्मा

‘सरकारको सय दिनमा कानून निर्माण र सेवा प्रवाहमा महत्वपूर्ण उपलब्धि’ -मन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको सोमवार (भोलि) सय दिन पुग्दैछ । दाहाल पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने पुष ११ गते पद तथा गोपनियताको शपथ लिँदै पहिलो पटक मन्त्रिपरिषद् गठन गरेका थिए । 

सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकारले सेवा प्रवाह र कानून निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । उनले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरु व्यवस्थित हुँदै गरेको बताइन् । 

त्यस्तै किसानको समस्या समाधान गर्न दुध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको मन्त्री शर्माले बताइन् । उनले सरकारले समयमै पाठ्यपुस्तक पु-याउने तयारी गरिरहेको पनि बताइन् ।

साथै मिटरब्याजी पीडितबारे उनले भनिन्, ‘मिटरब्याजसँग सम्बन्धित विषय जुन छ, कानूनतः यसलाई अपराध घोषणा गर्दै कानूनी दायरामा ल्याउनको निम्ति अपराध संहिता २०७४ लाई संशोधन गरेर जाने भनेर प्रक्रिया पनि अगाडी बढेको छ । यो समाधान गर्नका निम्ति गृहमन्त्रालय अन्तर्गत आयोग बनेको छ । सेवा प्रवाह र कानून निर्माणको सन्दर्भमा महत्वपूर्ण खुट्किलाहरु पारित हुँदैछन् ।’

Logo