नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकताकाे निर्णय

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकताकाे निर्णय


नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ । 

शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नेकपा(मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेकोले निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ । 

पार्टी एकताको आधारहरु माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभुत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भुमिका, जनवादी केन्द्रियताको संगठन सञ्चालन पद्धती, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरु रहेको नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले जानकारी दिए । 

उनले पार्टी एकतासँगै नयाँ क्रान्तिको शुरुवात गर्ने बताए । ‘साम्राज्यवाद र बिस्तारवादका उत्पीडनहरु र नेपाली कम्युनिष्ट आन्दोलनमा वर्चस्व जमाउँदै आएको दक्षिणपन्थी सर्मपणवादका बिरुद्ध दृढतापूर्वक संघर्ष गर्दै क्रान्तिको झण्डालाई उचो बनाउनेछौँ । नेपालको इतिहासमा थुप्रै शहीदहरुले महान जनयुद्धको प्रक्रियामा र अमर सहिदहरु र बेपत्ता योद्धाहरुले प्राणको आहुति दिनुभएको छ । विगतको आन्दोलनको जगमा उभिएर फेरीपनि हामीले नयाँ क्रान्तिको शुरुवात गर्नेछौँ । हाम्रो प्रतिवद्धता यही हो ।’ उनले भने ।  

पत्रकार सम्मेलनमा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिष्ट र वामपन्थीहरु संगठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए । उनले सबै कम्युनिष्टहरुलाई एकता प्रक्रियाभन्दा बाहिर नबस्न आग्रह गरे । 

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरु एकतावद्ध हुन लागेको बताए । ‘यो एकताले नेपालको क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गर्न र नेपालमा जुन संसदीय व्यवस्था जसको कारणले अहिले देश आक्रान्त बनेको छ । नेपाली जनता प्रताडित छन् । र देशले वैकल्पिक राजनीतिक प्रणालीको माग गरेको छ । राजनीतिक व्यवस्थाको माग गरेको छ । त्यो व्यवस्था भनेको निश्चित रुपमा नयाँ जनवाद, वैज्ञानिक समाजवाद बाहेक अर्को हुन सक्दैन त्यो व्यवस्था स्थापना गर्नको निम्ति यसले सिंगो नेपाली जनताहरुलाई, क्रान्तिकारीहरुलाई एकतावद्ध गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ उनले भने ।  

पार्टी एकताको घोषणा भने आगामी अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा गरिने जानकारी गराइएको छ ।

Logo