‘पार्टी एकता भूलचूकमा भएको होइन’ : परराष्ट्रमन्त्री ज्ञवाली

‘पार्टी एकता भूलचूकमा भएको होइन’ : परराष्ट्रमन्त्री ज्ञवाली


बनेपा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी एकता भूलचुकमा नभएको बताएका छन् । मदन भण्डारी फाउण्डेशन काभ्रेद्वारा आयोजित जिल्ला भेलालाई शनिबार बनेपामा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल र मदन भण्डारी दुई व्यक्तिको पार्टी स्थापना र प्रतिपादित सिद्धान्त जबजको बाटोमा नै नेकपा अगाडि बढिरहेको उनले बताए । ‘समाजवादको भविष्य उज्ज्वल छ भन्ने मार्गदर्शक नै हाम्रो पनि मार्गदर्शक हो’, उनले भने, ‘पार्टी एकता जेठ ३ गते नै रोज्नुको कारण महत्वपूर्ण छ। यो एकता भूलचुकमा भएको होइन।’

मन्त्री ज्ञवालीले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा नेपालले दक्षिण एशियामै प्रभावकारी सफलता प्राप्त गरेको दाबी गरे । ‘दक्षिण एशियामा कोरोनाविरुद्धको लडाइँमा नेपालले प्रभावकारी सफलता प्राप्त गरेको छ’, उनले भने। मन्त्री ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनु पर्ने बताए । उनले सिङ्गो देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्ने बताए।

‘मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनु पर्नेछ’, उनले भने।

वास्तविक नक्सा बनाएर मात्रै नहुने चर्चा गर्दै मन्त्री ज्ञवालीले जमिन फर्काउन भन्न जस्तो सजिलो नभएको बताए । उनले भने, ‘भन्न त सजिलो छ, नक्सा त जहिले छापे पनि हुन्थ्यो नि, तर प्रक्रियागत ढङ्गले अघि बढ्नु पर्छ सफलतामा पक्कै पुगिन्छ।’

उनले वास्तविक नेपाली भूभागसहितको नक्सा जारी गर्न दह्रो मुटु भएको, राष्ट्रियताको लागि लड्ने एउटा नायक चाहिन्थ्यो, सोही अनुसार जारी भएको दाबी गरे । ‘कुर्सी जे सुकै होस् तर म राष्ट्रियताका लागि लड्छु भन्ने हिम्मत, कुर्सीबाट हट्न परे पनि आफ्नो भूमि छोड्दिन भन्ने हिम्मत चाहिन्थ्यो’, उनले भने।

सिङ्गो देश एकताबद्ध भएकाले मात्रै नक्सा जारी सम्भव भएको पनि उनको धारणा थियो। उनले नक्सा अनुसारको संविधान संशोधन गरिएको क्षण यात्राको शुरुआत मात्रै भएको बताए।अन्नपूर्णबाट

Logo