तोकिएभन्दा बढी भाडा लिने सार्वजनिक सवारी धमाधम कारवाहीमा

तोकिएभन्दा बढी भाडा लिने सार्वजनिक सवारी धमाधम कारवाहीमा


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ सार्वजनिक सवारी साधनलाई कारवाही गरेको छ । ट्राफिक प्रहरीले आफैँ यात्रु बनेर तोकिएभन्दा बढी भाडा लिने सार्वजनिक सवारी साधनलाई कारवाही गरेको हो । साथै, तोकिएको संख्याभन्दा बढी यात्रु राख्ने ३३ सार्वजनिक सवारी साधनलाई समेत कारवाही गरिएको छ ।

त्यस्तै स्वास्थ्य मापदण्ड नअपनाउने १ हजार १ सय ५२ सार्वजनिक सवारी साधनलाई सम्झाइ वुझाई गरेर छोडिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौत्तमले सादा पोशाकमै ट्राफिक खटाएर बढी भाडा लिने र ५० प्रतिशतभन्दा बढी यात्रु राख्ने विरुद्ध कारवाही थालिएको जानकारी दिए ।

‘कोरोना संक्रमण रोकथामको लागि सामाजिक दूरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाइजर प्रयोग गरे नगरेको, ५० प्रतिशत मात्र यात्रु राखे नराखेको अनुगमन गर्ने विशेष अभियान थालिएको हो’–उनले भने–‘ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना गराईएको छ ।’
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गरेर तथा गाडीबाट ओर्लिएका यात्रुसँग जानकारी लिएर लापरवाही गर्ने सवारीलाई कारवाहीको दायरामा ल्याउने गरेको छ । यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन समेत गरेको छ ।

त्यस्तैगरी महाशाखाले सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, सामाजिक दूरी कायम नगरेको, स्वास्थ्य मापदण्ड पूरा नगरी चलाएको सूचना नजिकको ट्राफिक प्रहरी वा हटलाईन १०३ मा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

Logo