सन्तुलित र दिगो विकासमा ध्यान दिने जिसस खोटाङको नीतिगत निर्णय

सन्तुलित र दिगो विकासमा ध्यान दिने जिसस खोटाङको नीतिगत निर्णय


समन्वय समिति खोटाङको सातौँ जिल्ला सभाले सन्तुलित र दिगो विकासमा ध्यान दिने नीतिगत निर्णय गरेको छ।

शनिबार सम्पन्न जिल्लासभाले जिल्लाका १० वटै स्थानीय तहको टोल तथा वस्तीहरुको मुहार फेर्नका लागि जनप्रतिनिधिले सन्तुलित र दिगो विकासमा ध्यान दिने नीतिगत निर्णय गरेको हो। 

गाउँसभाले अन्तर पालिका र अन्तर जिल्लाभित्रका योजना निर्माण सम्वन्धी १० बुँदे नीतिगत निर्णय गरेको छ। दिगो र सन्तुलित विकास लक्ष्यलाई आधार मानेर योजना बनाउने, सामाजिक न्यायमा आधारित योजनाहरु निर्माण गर्ने, वातावरणमैत्री आयोजना निर्माण गर्ने, अधिकतम रोजगारी श्रृजना हुने बहुवर्षीय आयोजना सञ्चालन गर्ने, शिक्षामा भएको लगानीलाई व्यवस्थित र वस्तुगत योजना वनाई गुणस्तर बृद्धि हुने खालको योजना बनाउने नीति तथा कार्यक्रम पारित गरेको छ। 

यस्तै,अदक्ष श्रमशक्तिलाई दक्ष बनाउने, सिपयुक्त वनाउने आयोजना सञ्चालन गर्ने, भौगोलिक र साँस्कृतिक पर्यटनको प्रवद्र्धन हुने खालका आयोजना वनाउने, भौतिक पूर्वाधारहरु कम र सम्पन्न हुने खालका आयोजना छनौट गर्ने, कृषि उपजको बजार र वितरणमा आधारित योजनहरु निर्माण गर्ने र अधिकतम स्थानीय श्रम परिचालन हुने योजना वनाउने नीतिगत निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । गाउँसभामा गरिएको निर्णय आइतबार पत्रकार सम्मेलनमार्फत गरिएको हो । 

जिल्ला सभामा मध्यपहाडी राजमार्ग अन्तर्गत जयरामघाट–हलेसी (३५ किमी) सडक खण्डलाई मध्यपहाडी लोकमार्गको मापदण्डमा स्तरोन्नती गर्न सम्बन्धित मन्त्रालयमा माग गर्ने, जिल्लाभित्र निर्माणाधिन सडक, पुल यथाशिघ्र सम्पन्न गर्न सम्बन्धित निकायमा पहल गर्ने, मध्यपहाडी राजमार्गको सेखुवा-चखेवा खण्ड कालोपत्रेमा ढिलाई भएकोले सम्बन्धित निकायमा पहल गर्ने, महुरे-फोक्सिङटार-गाईघाट-दिक्तेल सडक खण्डको आयोजना वेवारिसे अवस्थामा रहेकोले चाँडो सम्पन्न गराउन सम्बन्धित निकायमा पहल लिने निर्णय गरिएको छ । 

यस्तै, दिक्तेल,साप्सुखोला,मात्तिम,टेम्मा,याम्खा,पञ्चमी,रोक्सिङ,खोटाङवजार हुँदै चिसापानी,मौवावोटे,बंशीलासम्मको सडक खण्डको स्तरोन्नती तथा कालोपत्रे गर्नको लागि सम्बन्धित मन्त्रालयमा पहल लिने, हुर्लुङ,जालपा,ऐसेलुखर्क सडक खण्ड कालोपत्रे गर्न माग गर्ने, जालपा,बाक्सिला सडक खण्डलाई कालोपत्रेको लागि माग गर्ने सोल्मा–पाथेका,फेदीसम्मको सडकलाई कालोपत्रेको लागि माग गर्ने, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, सघन शहरी विकास प्रदेश र संघबाट सडक आयोजना कार्यालयहरु संघ र प्रदेशबाट सञ्चालित सडकहरु समयमा, गुणस्तरयुक्त रुपमा सम्पन्न गर्न सम्बन्धित निकायमा निर्देशन दिने निर्णय भएको छ । 

प्रमुख राईका अनुसार धाप्लाङ,धर्तुङ,चिसापानी–डम्वर्खुसिवालय,भञ्ज्याङखर्क सडक कालोपत्रेको लागि माग गर्ने, रसुवा–सिम्पानी–ईन्द्रेणी पोखरी,मुलडाँडा,पान्धारे सडक खण्ड कालोपत्रेको लागि माग गर्ने, साप्सुखोला, मानेभन्ज्याङ,पान्धारे सडक ग्राभेल भइ सकेको हुँदा कालोपत्रे गर्नका लागि माग गर्ने, खोटाङबजार,वाप्लुखा सावा, लिकुवा,पामाखाम भन्ज्याङ सडक स्तरोन्नतीको लागि माग गर्ने, जिल्लाभरी विद्युत सेवालाई गुणस्तरीय बनाउन विद्युत प्राधिकरणलाई माग गर्ने तथा जन्तेढुङ्गा र बाँकी पालिकाको सेवा विस्तार नभएका स्थानमा तुरुन्त विद्युत प्रसारण लाईन पुर्‍याउन माग गर्ने निर्णय भएको छ । 

यस्तै, सबै पालिकामा आभारभूत अस्पताल पुर्‍याउने, नेपाल सरकारको नीति भएकोले निर्माण र सञ्चालन हुन बाँकी पालिकामा तुरुन्त अस्पताल निर्माण र सञ्चालनको लागि माग गर्ने, जिल्ला अस्पताल खोटाङ र बाँकी रहेका पालिकाको आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीको आवासगृह निर्माणको लागि माग गर्ने निर्णय गरिएको छ । 

Skip This
Logo