मन्त्री मोदीकाे गुनासाे- राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या आयाे

मन्त्री मोदीकाे गुनासाे- राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या आयाे


संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयबारे बोल्दै मन्त्री मोदीले पार्टी पिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफू अनुकूल कर्मचारी माग गर्दा उनीहरुको परिचालनमा समस्या देखिएको प्रष्टयाएका हुन् । उनले कर्मचारीहरु दूर्गम क्षेत्रमा जानै नचाहेको गुनासो पनि गरे । 

आफूले भने दूर्गम र सुगम मिलाएर उनीहरुको सरुवा प्रणालीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको पनि उनको भनाई थियो । 

मन्त्री मोदीले स्थानीय तहको अनिमितता रोक्नका लागि आफूले निमित्त कर्मचारी पठाउन नचाहे पनि त्यसका लागि कर्मचारीहरुकै अभाव रहेको पनि स्मरण गराए । 

मन्त्री मोदीले काठमाडौं र त्यस वरपर मात्रै रहने कर्मचारीहरुमा विकृत चाहना रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न आफू लागि परेको बताए । उनले संघीय निजामती सेवा ऐन चालू संसदबाट पारित गराउने गरी ल्याउन चाहेको पनि बताए । अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा स्विकृतिका लागि सो ऐनको मस्यौदा पठाइएको पनि उनले बैठकलाई जानकारी गराए । 

Logo