हाङझाव एसियाडको तयारी प्रशिक्षण वैशाखदेखि

हाङझाव एसियाडको तयारी प्रशिक्षण वैशाखदेखि


चीनको हाङझावमा हुने १९ औं एशियाली खेलकुदको तयारी प्रशिक्षण वैशाख ११ गतेदेखि शुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराए । पहिलो चरणको प्रशिक्षण वैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ । त्यसमा ४ सय २५ खेलाडी सहभागी हुनेछन् । २ सय ९५ खेलाडी सहभागी हुने दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ । अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम चरणमा खेलाडी संख्या १ सय ६८ कायम हुनेछ ।

प्रशिक्षण शुरु हुनुअघि वैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुनेछ । यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टीसहित समय हेरफेर गर्न सकिने सदस्य–सचिव घिसिङले जानकारी दिए । हाल तयारी प्रशिक्षणका लागि २ करोड बजेट प्राप्त भएको बताउदै थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिवद्धता जनाएको उनले जानकारी गराए ।

‘तयारी प्रशिक्षणका लागि अहिले २ करोड बजेट छ । यतिले पुग्दैन । अपुग रकम अर्थ मन्त्रालयले दिने प्रतिवद्धता जनाएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रशिक्षण करिव साढे पाँच महिना चल्छ । कुनैपनि हालतमा प्रशिक्षण रोकिँदैन ।’

नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । एशियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ ।

Logo