काठमाडौं महानगरपालिका आज आफ्नो स्थापना दिवस मनाउँदै

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आज आफ्नो २५ औं स्थापना दिवस मनाउँदैछ । यहि अवसर पारेर महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गर्ने तयारी पनि महानगरले गरेको छ ।

आफ्नो २५ औँ महानगर दिवसका अवसरमा आज विशेष कार्यक्रम गरी महानगरपालिकाले महानगरलाई सडक मानवमुक्त घोषणा गर्न लागेको हो । मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरीको सहयोगमा काठमाडौं महानगर क्षेत्रलाई सडक मानवमुक्त बनाउन लागिएको हो ।

२९ मंसिर २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएसँगै यो दिवस मनाउन थालिएको हो । महानगरवासीलाई अनुभूत हुनेगरी दिवस मनाउने तयारी भएको महानगरपालिकाले बिहीबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । भव्यताका साथ दिवस मनाउन महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ भने विभिन्न उपसमिति पनि गठन गरिएको छ ।

समितिका अध्यक्ष तथा महानगर प्रमुख शाक्यले महानगरका अतिरिक्त वडा स्तरमा आयोजना हुने कार्यक्रमलाई समेत सहयोग गरिने बताए । ‘महानगरले जनतादेखि जनप्रतिनिधिसम्मको सहभागितामा वसन्तपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी महानगर दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको छ’, मेयर शाक्यले भने ।

काठमाडौं महानगरपालिका आज आफ्नो स्थापना दिवस मनाउँदै