सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

सिन्धुपाल्चोक ।

दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको रिर्जभ बस लामोसाघु जिरी सडकको ७ किलो भन्ने स्थानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको बा ४ ख ४४६८ नम्बरको बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ बजे १५ मिनेटमा दुर्घटना भएको हो । बस सडकबाट ७० मिटर तल खसेको छ । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार घटनास्थलमा १४ जनाको शव भेटिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार मृत्यु हुनेमा अधिकांश जुगल गाउँपालिकाका स्थानीय र एकजना दोलखाकी जुना तामाङ रहेकी छन् । अन्यकाे सनाखत हुन बाँकी छ ।

घाइतेहरूमध्ये  ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने १५ जनालाई काठमाडौं पठाइएको छ ।

भक्तपुरमा चल्ने उक्त बस जुगलगाउँपालिका क्षेत्रकै स्थानीयको भएको शर्माले केन्द्रबिन्दुलाई बताए । दुर्घटना हुनुअघि बसमा आवाज आएको र चालकले रोकेर हेरेर पुनः बस चलाएको केही बेरमै सडकको मोडबाट बस खसेको थियो । बस मोड्न नसकेका कारण दुर्घटना भएको हुनसक्ने अनुमान निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको छ । बसमा ३२ यात्रु सवार थिए ।

सिन्धुपाल्चोकमा विभिन्न समयमा ठूला सवारी दुर्घटना भइरहेका छन् । सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

 

सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो