मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन, यस्ताे छ टिकट दर

मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन, यस्ताे छ टिकट दर


नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएको छ । 

शुक्रबार विहान ६ बजे केबलकारको तल्लो स्टेशनबाट पहिलो यात्रुका रुपमा गैंडाकोट नगरपालिका ६ निवासी एक सय वर्षीया सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यात्रा गरेर शुभारम्भ गरिएको हो ।

१ दशमलव २ किलोमीटर लामो दुरीको यो केबलकार यात्रामा १२ वटा यात्रु बोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ, जसमा एउटा डब्बामा एक पटकमा ८ जनासम्म चढ्न सक्नेछन् । नेपालमा भित्रिएको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त यस केबलकारमा ५ मिनेटमा मन्दिर पुगिने कम्पनीले जनाएको छ ।

उद्घाटनको अवसर पारेर केबलकारले दुईतर्फी मूल्य ५५० रुपैयाँ तोकेको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि ३३० रुपैयाँ, विद्यार्थीहरुको लागि ४१५ रुपैयाँ, जेष्ठ नागरिकहरुको लागि ४१५ रुपैयाँ र फरक क्षमता भएकाहरु (अपाङ्ग)का लागि २७५ रुपैयाँ टिकट दर तोकेको छ ।

आईएमई समूहको मुख्य लगानी रहेको यस केबलकारमा कम्तिमा २ सय जनालाई रोजगारी दिने दाबी गरिएको छ । नयाँ वर्षको पहिलो दिन नै मौलाकालिका मन्दिरमा कम्तिमा ६ हजार यात्रु ओहोरदोहोर गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आईएमई समूहले काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार स्थापना गरेको छ । 

Logo