एमाले दर्ता हुनुमा ओलीको हात भएको प्रचण्डको आरोपदेखि सर्वोच्चका विवादास्पद फैसलासम्म (भिडियोसहित)

एमाले दर्ता हुनुमा ओलीको हात भएको प्रचण्डको आरोपदेखि सर्वोच्चका विवादास्पद फैसलासम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा नेकपा एमाले दर्ता भएको आरोप लगाएका छन् । शुक्रबार नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीकै निर्देशनमा देशभर प्रदर्शन भएको प्रचण्डको भनाइ छ ।

त्यस्तै काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार साँझ करिब ८ बजेतिर युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धानको टोलीले गएराति नै पक्राउ गरेको थियो । पक्राउ परेका रौतहटको लक्ष्मीपुर घर भइ डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

चीनले दक्षिण–पश्चिमी शहर छेङ्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । अमेरिकाले टेक्ससको हस्टनस्थित चीनको महावाणिज्य दूतावास शुक्रबारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय लिएको हो ।

त्यस्तैगरी नेपाल उद्योग वाणिज्य महासंघको आगामी साउन २६ र २७ गते हुने भनिएको अधिवेशन फेरि स्थगित भएको छ । बिहीबार बसेको महासंघ पदाधिकारीको बैठकले अधिवेशन स्थगित गरेको हो ।

सर्वोच्च अदालतबाट फैसला भएका पछिल्ला दुई फैसला विवादास्पद बनेका छन् । आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भएका पूर्व सुरक्षा अधिकारी रञ्जन कोइरालाको सजाय घटाइदिने र अत्याधिक मादकपदार्थ सेवन गरी सवारी चलाएर महिलाको ज्यान लिएका अभियुक्त पृथ्वी मल्ललाई दीर्घरोगी भएकाले थुनामा राख्दा कोरोनाको जोखिम रहने भन्दै धरौटीमा छोड्ने सर्वोच्चका दुई फैसला विवादास्पद बनेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo