जनकपुरमा हरवाचरवाहरुको आन्दोलन, माग पूरा नभए सिंहदरबार घेर्ने चेतावनी

जनकपुरमा हरवाचरवाहरुको आन्दोलन, माग पूरा नभए सिंहदरबार घेर्ने चेतावनी


न्यायिक पुनः स्थापनाको मागसहित हरवाचरवाहरुले आन्दोलन जारी राखेका छन् । हरवाचरवाहरु आफ्नो अधिकार प्राप्तिका लागि मधेस प्रदेशमा अधिकार यात्रा जारी गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ साउन २ गते हरवाचरवा प्रथा अन्त्य भएको घोषणा गरेका थिए । हरवाचरवा प्रथा अन्त्य घोषणा गरेपनि कार्यान्वयनमा आउन नसक्दा हरवाचरवा समस्यामा रहेकाे भन्दै आन्दोलन गरिरहेका छन् ।  

दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट सुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहिदनगर हुँदै मंगलवार जनकपुरधाम पुगेको थियो ।

यता वीरगन्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, व्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आएर प्रदर्शन गरेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले जानकारी दिए । 

सरकारले हरवाचरवाको मुक्ति घोषणा गर्दै उनीहरूको पुनःस्थापनाका लागि लागत संकलन, सत्यापन, परिचयपत्र वितरण, पुनः स्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो ।

यसका लागि भूमि व्यवस्था मन्त्रालयले कार्यविधि र कार्ययोजना निर्माण गरे पनि कार्यान्वयनमा आउन नसकेको हरवाचरवा अधिकारकर्मी सञ्जय महराले बताए । उनले प्रदेश सरकारले समस्या समाधान नगरे सिंहदरबार घेर्ने चेतावनी दिए । 

Logo