#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20146444736092641966112990691
नेपाल2331079673816493

३ करोड खर्चेर बन्दै छ काठमाडौँमा साइकल लेन

प्रसुन संग्रौला । काठमाडौँ  । उपत्यकामा ललितपुर महानगरपालिकापछि अहिले काठमाडौँ महानगरपालिका पनि साइकल लेन बनाउने तयारीमा लागेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गत मंसिर १४ गते आफ्नो ३५ वर्ष पुरानो साइकलमा सयर गर्दै ललितपुरमा साइकल लेनको शुभारम्भ गरेका थिए ।

महानगरपालिकाले कुपन्डोलदेखि मंगलबजारसम्म ४ दशमलव ५ किलोमिटर लामो साइकल लेनको निर्माण गर्न लागेको हो । हाल उक्त साइकल लेनको निर्माण कार्य धमाधम भइरहेको छ । मेयर महर्जनका अनुसार करिब २–३ हप्ता भित्र निर्माणको काम सम्पन्न हुनेछ । साइकल लेन निर्माणको लागि नगरपालिकाले ५० लाखको बजेट छुट्याएको भए पनि त्योभन्दा कम रकममा निर्माण कार्य समापन हुँदै छ । साइकल लेनलाई थप व्यवस्थित र मजबुत बनाउन आउँदो हिउँदे अधिवेशनमा साइकल लेनको ऐन बनाउने महर्जनको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि साइकल निर्माणको लागि गुरुयोजना तयार भइसकेको र यसै वर्षभित्र नै उक्त कार्य समापन हुने बताए । महानगरपालिकाले तीनकुनेदेखि माइतीघरसम्म ३ दशमलव ५ किलोमिटर दूरीमा साइकल लेन बनाउन लागेको हो । उक्त कार्यका लागि करिब ३ करोड बजेट छुट्याइएको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

एक तथ्यांक अनुसार काठमाडौं उपत्यकामा करिब १ लाख ५० हजार जना सक्रिय साइकल चालक छन् । तीमध्ये एक हुन्– रत्न श्रेष्ठ । उनी नियमित साइकल सवारी गर्छन् । श्रेष्ठ नेपाल साइकल सोसाइटीका अध्यक्ष पनि हुन् । श्रेष्ठका अनुसार काठमाडौँमा साइकल कुदाउन निकै कठिन छ, साइकल देखेपछि ठूला सवारी साधनले जथाभावी हिसाबमा पेल्न खोज्छन् । यसबाट दुर्घटना हुने सम्भावना बढ्छ ।

नेपालका अधिकांश व्यक्तिमा साइकल गरिबहरूले चढ्न साधन हो भन्ने सोच छ, त्यसैले पनि यसका प्रयोगकर्ताहरू थोरै छन् । यसैकारण अन्य सवारी साधनहरूले पनि साइकल चलाउनेलाई हेप्ने गरेको श्रेष्ठको अनुभव छ ।

काठमाडौँको मौसम र बाटोको ढाँचा साइकल मैत्री छ, राम्रो सुविधा हुने हो भने यहाँ साइकल कुदाउन निकै सजिलो छ । यहाँका बासिन्दाहरूले छोटो दूरीको बाटोमा मोटरसाइकल र गाडीको साटो साइकल कुदाउने हो भने सडक दुर्घटनामा कमी आउनुका साथै वातावरण पनि स्वच्छ हुने श्रेष्ठको दाबी छ ।

श्रेष्ठ भन्छन् – ‘साइकल लेन निर्माण हुने कुराले निकै खुसी लागेको छ, साइकल लेन भनेको केवल बाटो होइन । बरु यो त सम्पूर्ण साइकल यात्रीहरूका लागि सम्मान पनि हो ।’

वातावरणविद् भूषण तुलाधर पनि साइकल लेन बन्ने कुराले उत्साहित छन् । उनी भन्छन्– अहिले वातावरण दिनप्रतिदिन बिग्रिरहेको छ । वातावरणको रक्षा र सुधार गर्न पनि साइकल लेनको आवश्यकता छ । विशेष गरी युवावर्गले मोटरसाइकलभन्दा साइकल प्रयोगलाई प्राथमिकता दिने हो भने वातावरणमा छिटै नसोचेको सुधार आउँछ ।’

सम्बन्धित समाचारहरु