आइपिएलमा बेंगलोर विजयी, दिल्लीको लगातार पाँचौ हार

आइपिएलमा बेंगलोर विजयी, दिल्लीको लगातार पाँचौ हार


दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा लगातार पाँचौ हार व्यहोरेको छ । शनिबार भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग २३ रनले दिल्ली पराजित भएको हो । 

बेंगलोरले जितका लागि दिएको १७५ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५१ रनमा समेटिएको हो । खराव सुरुवात गरेको दिल्लीका लागि मनिष पाण्डेले अधशतक प्रहार गरेपनि हार टार्न सकेनन् । सुरुवाती २ ओभरमै दिल्लीले ३ विकेट गुमाएको थियो । 

दिल्लीका लागि मनिषले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले । साथै अक्षर पटेलले २१ रन तथा कप्तान डेभिड वार्नरले १९ रन तथा अमान हकिम खानले १८ रन जोड्नुबाहेक अन्य खेलाडी सस्तैमा समेटिए । एनरिच नोर्जे २३ रनमा अविजित रहे । 

बलिङतर्फ विजयकुमारले ३ विकेट लिए भने मोहम्मद सिरजले २ विकेट तथा वायन पार्नेल, वानिन्दु हसरंगा र हर्ष पटेलले एकएक विकेट लिए । 

त्यसअघि घरेलु मैदान एम चेन्नास्वामीमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । बेंग्लोरका लागि ओपनर विराट कोहलीले ५० रनको अर्धशतकीय ईनिङ खेले । साथै महिपाल लुमरोले २६ रन तथा ग्लेन म्याक्सवेलले  २४ रन बनाए । कप्तान फाफ डु प्लेसिसले १६ बलमा २२ रन बनाउँदा शाहबाज अहमदले १२ बलमा अविजित २० रन बनाए ।  

बलिङतर्फ दिल्लीका लागि मिचेल मार्श र कुलदिप यादवले समान २/२ विकेट लिए भने अक्षर पटेल र ललित यादवको नाममा समान १/१ विकेट रह्यो । 

यो जितसँगै बेंगलोर ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ आठौं स्थानमा छ। यता लगातार पाँचौ हार व्यहोरेको दिल्लीलाई भने शीर्ष चारमा रहँदै प्लेअफ खेल्न धेरै कठिन हुने देखिएको छ । यसअघि दिल्ली लखनऊ सुपर जायन्ट्स, गुजरात टाइटन्स, राजस्थान रोयल्स र मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।

Logo